काठमाडौं - भारतको जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा अब महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन हुने भएको छ।
२०७८ चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ। जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागिएको हो। गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले उक्त रेल्वे ट्रयाक नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ। हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने योजना छ।
कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा काम प्रभावित भएको छ।
नेपालमा रेल सञ्जाल विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघमा जयनगर–बर्दिबास रेलमार्ग निर्माणको थालनी भएको थियो।
२०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक रेल आउने र दुईपटक जाने गरेको छ। यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजना अघि बढाएको छ। तत्काल स्थायी कर्मचारीको सङ्गठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी सुरु गरिएको छ।
0 comment