काठमाडौं - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।
विमान बंगलादेशको उडान नम्बर ३७१ को विमानबाट काठमाडौं आएका लूलाई नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले विमानस्थलमा स्वागत गरे। लू विमानस्थलबाट सिधै एमसीसी कार्यालय बालुवाटारतर्फ प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा मन्त्री लूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'' र परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। लूले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेट्ने नेपालस्थित अमेरिकाको राजदूतावासले जनाएको छ।
केही दिनअघी भारत, बंगलादेश र श्रीलंकाको भ्रमणमा निस्केका लू यसअघि दुई पटक नेपाल आइसकेका छन्। नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पाटर्नरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि २०७९ असारमा लू नेपाल आएका थिए। नेपालमा ऊर्जा र पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गराउनु केही महिनाअघि पनि लू नेपाल आएका थिए।
सहायक विदेशमन्त्री लू दक्षिण तथा मध्य एसिया मामिलामा दखल राख्ने अमेरिकी कूटनीतिज्ञका रूपमा परिचित छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री नियुक्त भएका थिए। त्यसअघि लू कीर्गिस्तान र अल्बानियाका लागि राजदूत थिए। ३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरेका लू भारत र पाकिस्तानस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरेको अनुभव छ। दिल्लीमा उनले उपनियोग र मध्य एसिया तथा दक्षिण एसिया काकेसस मामिला कार्यालयमा उपनिर्देशकको जिम्मेवारी सम्हालेको अनुभव लूसँग छ। आमनिर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट विशिष्ट श्रेणीको भ्रमण हुन लागेको यो चौथो पटक हो।
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा जान लागेको पूर्वसन्ध्यामा लू नेपाल आइपुगेका हुन्। संसद्ले अनुमोदन गरेको करिब १८ महिनापछि भदौबाट एमसीसी कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ। नेपालले एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ।
0 comment