काठमाडौं – बैतडीमा आफ्नै हजुरबुवाको निर्घात कुटाइबाट दुई वर्षीय नातीको मृत्यु भएको छ भने अर्का गम्भीर घाईते भएका छन् । बैतडीको पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु भएको छ भने अर्का ८ वर्षीय नाती पनी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

 हेरचाहा गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला हजुर बुवाले नातीहरुलाई निर्घात कुटपीट गरेका हुन् । बिहीबार दिउँसो हेरचाहाका क्रममा ५० वर्षीय गणेश साउँदले दुई वर्षीय आफ्नै नाती रेसम साउँद र ८ वर्षीय रिजन साउँदलाई कुटेर  गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते भएका दुई वर्षीय रेसमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु् भएको बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।  जोशीका अनुसार, अर्का उनका दाजु ८ वर्षीय रिजनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको र उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । कुटपीट गर्ने आरोपीत बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।