काठमाडौं – अख्तियार अनुसन्धान आयोगले कञ्चनपुर लालझाडी गाउँपालिका –४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालय डाङजाईको हाताभित्र रहेको जमिन गैरकानुनी रुपमा उत्खनन् गरी माटो बिक्री गरेको आरोपमा प्रधानाध्यापकसहित चारजनाविरुद्ध मुद्धा दायर गरेको छ । 

अख्तियारले बैजनाथ बहुभाषिक आधारभूत विद्यालय डाङजाईको हाताभित्र रहेको जमिन गैरकानुनी रुपमा उत्खनन् गरी माटो बिक्री गरेको आरोपमा व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना र प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यसैगरी, माटो खरिद गर्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

विद्यालय हाताभित्र रहेको जमिन गैरकानुनी रुपमा उत्खन्न गरी माटो स्थानीय उद्योगलाई बिक्री गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा  ७ लाख २९ हजार ५१४ रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरेको पाइएकाले चारैजनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।