काठमाडौं – सुर्खेतको काँक्रेविहार वनमा राष्ट्रिय निकुञ्जको संरक्षित वन्य जन्तु मारेको आरोपमा चार जना पक्राउ परेका छन् । 

यसरी पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा २१ वर्षीय सुशील थारु, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभएको छ ।

नयाँगाउँ क्षेत्रबाट बुधवार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको भन्ने सूचनाका आधारमा घटनास्थलबाटै चार जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले उनीहरूलाई नियनत्रणमा लिई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । अन्यको खोजी कार्य भइरहेको र यसबारे घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।