काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफू अनुकूल सरुवा नपाए धम्क्याउने घुर्क्याउने कर्मचारी धेरै रहेको बताएका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रालयले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीले जस्तोसुकै धम्की दिए पनि सरुवा फिर्ता नहुने स्पष्ट पारे ।
उनले भने, 'सरुवा फिर्ता नभए आत्महत्या गर्छु भन्दै कर्मचारीहरूले धम्की दिने गरेका छन्। तर मैले सरुवा फिर्ता गर्न सक्दिनँ, बरु आत्महत्या गर्नू भन्ने गरेको छु। एक दिन त एकजना कर्मचारीले यहीँ आत्महत्या गर्छु भनेर सचिवज्युलाई भनेछन्। सचिवज्यूले मसँग केही गर्नुपर्यो भन्नुभयो। उसो भए डोरी लग्दिनुस्। सचिवहरू कहाँ झुण्डिन अफ्ठ्यारो लाग्यो भने मन्त्रीको ढोकामा गएर झुण्डिनुस् भनेँ। त्यसपछि सचिवज्यूले ती कर्मचारीलाई त्यही कुरा सुनाइदिनुभएछ, ती कर्मचारी खुरुक्क उठेर हिँडे।'
आफ्नो समस्या समाधानको लागि निवेदन दिन आएका स्वास्थ्यकर्मीलाई लक्षित गर्दै मन्त्री बस्नेतले कर्मचारीहरू सरुवा थमौती गर्न विभिन्न शक्तिहरू प्रयोग गरेर आउने गरेको बताए। आफूले भनेजस्तो नभए दंग्याउने, धम्क्याउने, घुर्क्याउने धेरै रहेको उनले बताए।
0 comment