काठमाडौं - गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने स्पष्ट पार्नुभयो ।

लोकतन्त्रमा जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था भएको बताउँदै गृहमन्त्री लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै लैजान सक्नु नै जनताको विश्वास र भरोसा हुने उल्लेख गर्नुभयो ।

मुलुकमा तीन / तीन महिनामा संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नुपर्ने अवस्था सिर्जना भएकाले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको उहाँको भनाइ थियो ।

उहाँले यो सरकारको उद्देश्य देशमा स्थिरता कायम राख्ने र सुशासन कायम राख्नु भएको पनि स्पष्ट पार्नुभयो । उहाँले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताउनुभयो ।

देशमा विधिको शासन कायम गर्न सरकार पूर्णरूपले लागि परेको गृहमन्त्री लेखकको भनाइ थियो । 

गृहमन्त्री लेखकले सुशासन कायम राख्न र भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिरहेको बताउनुभयो ।