काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको अन्त्येष्टि बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरीएको छ । राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो । पत्नी दाहाललाई प्रचण्डले दागबत्ती दिएका थिए ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । 

दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए । अन्त्येष्टिमा क्याबिनेटका मन्त्रीहरूसहित राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो साथै शीर्ष नेताहरूले फूलमाला अर्पण गरी श्रदासुमन व्यक्त गरेका थिए । दाहालको अन्त्येष्टिमा नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो ।

वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । वि. सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध थिईन । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार थिइन् । पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय सम्म भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लोसमय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आएकी थिइन् ।