काठमाडौं – भारतीयसँग मिलेर दुई नेपालीको अपहरण गर्ने र ५० लाख फिरौती माग्ने एकजनालाई प्रहरीले २ महिनापछि पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । बस्नेतले भारतीय नागरिक इम्तियाजसमेतको हतियारधारी गिरोहसँग मिलेर अपहरणको योजना बनाउने, फिरौती रकम माग्ने तथा रकम बुझ्ने कार्यमा संलग्न रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।
उनका अनुसार बराहक्षेत्र–५ का १९ वर्षीय शौगात भण्डारी, २२ वर्षीय छविलाल आचार्य, हरि आचार्य र सुनील गिरीसमेत चार जना युवा गत वैशाख २५ गते दिउँसो किनमेलका लागि भारतको बेला बजार गएका थिए । सामान खरिद गरेर फर्किदैं गरेका शौगात र छविलाल चढेको मोटरसाइकल नियन्त्रणमा लिँदै साँझ ५ बजेतिर इम्तियाजसहित सात जनाको समूहले हतियार देखाएर उनीहरुलाई अपहरण गरेको डीएसपी राईले बताए ।
अपहरणमा परेका शौगात र छविलाल भने वैशाख २७ गते अपहरणकारीको पञ्जाबाट फुत्किन सफल भएका थिए । अपहरणकारीले दुवै जनालाई भारतको बेला बजारको भित्री एरियामा स्थान परिवर्तन गर्दै बन्धक बनाएर राखेको पाइएको अनुशन्धानले देखाएको राईले जानकारी दिएका छन् । अपहरणमा परेको पर्सिपल्ट दुवै जना फुत्किएर शौचालयको झ्यालबाट हामफालेर भाग्न सफल भए पछि नेपाल आएर प्रहरीलाई घटनाको जानकारी गराएको राईले बताएका छन् ।
छोरालाई अपहरण गरेर राखेको र फिरौतीवापत ५० लाख नदिए मारिदिने धम्कीसहितको फोन आएपछि शौगातका बुवा फिरौती रकम दिन तयार भएको पाइएको उनको भनाइ छ । डीएसपी राईका अनुसार शौगातका बुवाले फिरौतीवापत वैशाख २६ गते अपहरणकारीलाई १ लाख ५० हजार रूपैयाँ रकम बुझाएको पाइएको छ । रकम भने अहिले पक्राउ परेका सन्तोषले बुझेको पुष्टि भएको उनको भनाइ छ ।
उनका अनुसार सन्तोषलाई खोजी गर्ने क्रममा उनको घरबाट फिरौतीवापत लिएको १ लाख ५० हजार रूपैयाँ बरामद भएको थियो । घरमा लुकाई छिपाई राखेको अवस्थामा फेन्सिडललगायतका लागूऔषध पनि बरामद गरिएको प्रहरीले जनाएको छ । सन्तोष भने फरार रहेका थिए । धरानबाट उदयपुरतर्फ भाग्दै गर्दा बराहक्षेत्र–१ स्थित झण्डा चोकबाट गत सोमबार साँझ पक्राउ गरिएको डीएसपी राईले बताए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर राजेश दत्त नेतृत्वको टोलीले सन्तोषलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अपहरणमा संलग्न भारतीय नागरिक इम्तियाज पनि अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । विभिन्न अपराधिक घटनामा उनलाई भारतीय प्रहरीले पक्राउ गरेर कारबाही गरेको जनाइएको छ । पछिल्लो समय भने भारतबाट नेपालतिर हतियार र लागूऔषध सप्लाई गर्ने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
घटना सार्वजनिक हुनसाथ घर छाडेर उदयपुरतिर जाँदै गर्दा उनलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको राईले जानकारी दिएका छन् ।
0 comment