काठमाडौं – प्रधानमन्त्री  एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्म पत्नी सीता दाहालको आज निधन भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान नर्भिक अस्पतालमा लगिएको थियो । बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको नर्भिक अस्पतालले जानकारी दिएको छ । 

साथै बुधबार बिहान ८ः ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका दिएको जानकारी अनुसार दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने छ । प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुग्नु भएको छ । अहिले नर्भिक अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुकहरु जानेक्रम जारी रहेको छ ।

दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले लामो समय देखी पीडित हुनुहुन्थयो । यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन । मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ ।