काठमाडौं - व्यवसायी दुर्गा प्रसाईसँग रकम माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ती पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा खोटाङ राहबेशी गाउँपालिका - १ राहबेशी स्थायी घर भई काठमाडौं- ४ चुनदेवी बस्ने रमेशकुमार गुरुङ रहेका छन् ।

गत असार १३ गते गुरुङले आफ्नो नाम प्रवेश लामा बताउँदै प्रसाईलाई फोन गरेर तपाईंको हत्या गर्ने योजना बनिसकेको छ, सुरक्षित हुन चाहनुहुन्छ भने ३० करोड रुपैयाँ दिनुहोला नत्र अपहरण गरी हत्या गरिदिन्छु भन्दै पहिलो पटक धम्की दिएका थिए । गुरुङले प्रसाईको नाम २ नम्बरमा रहेको समेत बताएका थिए । त्यसपछी गुरुङले पटकपटक प्रसाईलाई फोन र म्यासेज गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी) को टोलीले गुरूङलाई महाराजगन्जबाट पक्राउ गरेको छ । सीआईवीको टोलीले बार्गेनिङ पछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई पक्राउ गरी थप अनुसन्धानको लागि गुरुङलाई प्रहरी वृत्त महाराजगन्ज पठाएको छ।

प्रसाईले प्रहरीमा दिएको उजुरीको आधारमा अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।