काठमाडौं – झापाको धुलाबारीको सानो साथी मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते भएका एक छात्रको उपचारका क्रममा मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धुलाबारीका मेरिना लिम्बुकी ८ वर्षीय छोरा तान्छोक लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
खाजा खाएर शौचालय जाँदा छात्रा लिम्बु सोही विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा सोमबार दिउँसो २ बजे खसेका थिए । उनलाई तत्काल उद्धार गरी अचेत अवस्थामा उपचारका लागि हस्पिटल पु¥याएको थियो । बालक लिम्बुको मङ्गलबार बिहान साढे १० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरु तिम्सिनाले जानकारी दिएका छन् ।
पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीमा अहिले ६३ जना नानीहरू अध्ययनरत छन् । लिम्बु धुलाबारीको सानो साथी नामक मन्टेश्वरीमा अध्ययनरत थिए ।
विद्यालयको लापरबाहीले बालकको ज्यान गएको अभिभावकहरू बताउँछन् । सेफ्टी ट्याङ्कीमाथि मक्किएको पलाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर−१० का वडाध्यक्ष नारायण खनालले बताए ।
मन्टेश्वरीका सञ्चालक मनोज गुरुङलाई प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई यसबारे थप अनुशन्धान भईरहेको जानकारी दिएको छ ।
0 comment