काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र रहेको प्रहरीले जानकारी दिएको छ ।  ललिता निवास जग्गा प्रकरणमा संलग्न ४ सय ६ विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै मुलुकको उच्च पदमा रहेका व्यक्ति पनि समातिन थालेका हुन् । असार १२ यता ललिता निवास प्रकरणमा १५ जना पक्राउ परेका छन् । जसमा १२ हिरासतमा छन् भने ३ जना छुटेका छन् ।

यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङलगायत ९ जनालाई हिरासतमा नै राखेर अनुसन्धान भइरहेको छ। यसअघि पक्राउ परेका मोलपोत अधिकृत सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर आफन्तको जिम्मा लगाएको थियो । उनीहरूले पक्राउ गर्न नमिल्ने स्टे अर्डर लिएर बसेका थिए ।