काठमाडौं - सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ ।
बिहान १०:०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्याण्ड ओभर गर्ना साथ सम्पर्कविच्छेद भएको हेलिकोप्टर चौरी गोठालाहरुले दुर्घटनाग्रस्त अवस्थामा देखेका थिए ।
हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकोप्टरमा क्याप्टेन बाहेक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक गरी ५ जना मेक्सिकन नागरिक सवार थिए ।
दुर्घटनाग्रस्त हेलिकोप्टरबाट स्थानीयले ४ जनाको शव निकालेका छन् भने दुईजनाको शव भेटिएको छैन। खोजि कार्य जारी छ । शवको पहिचान भइसकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।
उनले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरे।
यसैबिच मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानविन गर्न समिति बनाउने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो।
0 comment