काठमाडौं – संसद गतिरोध हटाउनेबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । आइतबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि उनीहरू सहमति जुटाउन सोमबार पनि छलफलमा बसेका हुन् ।

संसदमा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरवारमा छलफल भएको थियो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना कुराहरू संसदमा राख्न पाउनुपर्ने बताएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक भएको श्रोतले जनाएको छ । तर बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सबै कुरा संसदमा थाहा हुने बताएका छन् । 

बैठकपछि बहिरने क्रममा प्रधानमन्त्री पुष्प कमल दाहालले आफूले संसदमा सम्बोधन गर्ने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिलेको एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रचण्डको राजीनामा माग्दै बैठक स्थगित गर्दै आएका छन् । साथै प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ ।