काठमाडौं - प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई जोडेर सार्वजनिक भएको अडियो सत्य नभएको बताएको छ ।
राणाको अडियोको जाँच रिपोर्ट सार्वजनिक गर्दै प्रहरीले उक्त अडियो दाङका सन्देश शर्मासँग मिलेको उल्लेख गरेको छ । शर्माविरुद्ध ठगी तथा संगठित अपराध कसुर मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीसँगको बयानमा शर्माले भुटानी शरणार्थी प्रकरणमा डा. राणाको कहिँ कतै संलग्न नहरेको बयान दिएका थिए । काठमाडौं जिल्ला अदालतमा समेत शर्माले प्रहरीलाई दिएको बयानलाई निरन्तरता दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमाथि अनुसन्धान भइरहेको बेला आफूलाई जोडेर सार्वजिनक भएको अडियोको सत्य, तथ्य अनुसन्धान गर्न राणाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले उक्त उजुरीउपर छानविनको प्रगति विवरण सार्वजनिक गर्दै अडियोमा सत्यता नभएको बताएको हो ।
प्रहरीको हिरासतमा रहेका शर्माले प्रहरीलाई वैशाख ४ गते नै बयान दिएका थिए । उनले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजु राणाको नाम लिएको अडियो वैशाख १६ गते मात्रै सार्वजनिक गरिएको थियो । राणाले अडियो सार्वजनिक भएपछि वैशाख २७ गते अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।
0 comment