काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले उपत्यकाको बिभिन्न स्थानमा मोटरसाइकल प्रयोग गरेर सिक्री लुट्ने समूहलाई पक्राउ गरेको छ।
बिहान मर्निङ्ग वाकमा आउने महिलाहरुको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोहलाइ पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौंको हाँडिगाउँ बस्ने वर्ष ३२ का रबिन दमाई, चाबहिल बस्ने वर्ष १८ का रबि बिश्वकर्मा, बानेश्वर बस्ने वर्ष २६ का राहुल माझी र भारत पश्चिम बङ्गाल घर भई न्युरोड बस्ने वर्ष ४२ का भारतीय नागरिक श्रीकान्ता माइती रहेका छन् ।
यो समुहले यहि असार १ गते देखि २० गते भित्र काठमाडौंको ८ स्थान कपुरधारा,टोखाको ग्राण्डी अस्पताल नजिक, ठुलोभर्याङ्गको बुद्ध चोक, ३ नम्बर वडाको बिष्णुमती पुल, टोखाको कृष्ण मन्दिर, चक्रपथको बङ्गलामुखी मन्दिर, टोखाको शेर्पा पेट्रोल पम्पनजिक र १५ वडाको चागल जनसेवा मार्गबाट बिहान मर्निङ्ग वाकमा हिँडेका महिलाहरुको सुनको सिक्री लुटेर फरार भएका थिए।
अधिकांश घटना बिहान साँढे ४ बजेदेखि ६ बजे भित्र भएको प्रहरीले बताएको छ । बिहानको समयमा उनीहरूले मोटरसाइकलमा आएर रेकी गरि सुनको सिक्री लुट्ने गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले बताउनु भयो ।
बिहान घुम्न जाँदा लुटेराले एक्कसी घाँटीमा लगाइ राखेको सिक्री खोसेर लगेको र आफु लडेर घाइते समेत भएको पिडितको भनाइ छ ।
प्रहरीले उनीहरूको साथबाट लुटिएको सुन, २ वटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ। प्रहरीको अनुसन्धानमा उनीहरूले लुट्न चोरीको एउटै मोटरसाइकल प्रयोग गरेको देखिएको छ। उनीहरुले ड्युक मोटरसाइकलमा नक्कली नम्बर प्रयोग गरेर गहना लुट्ने गरेका थिए।
0 comment