काठमाडौं - ललिता निवास प्रकरणमा ५ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरू युवराज भुसाल, दीपकुमार बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।
भुसाल राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी हुन् भने पन्त पूर्वमन्त्रीसमेत हुन्। पाँचै जना तत्कालीन सचिवहरू नीतिगत निर्णयका आधारमा अनुसन्धानमा तानिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। यो प्रकरण मुछिएका राजनीतिक नेतृत्व, न्यायिक नेतृत्व र पूर्वमुख्यसचिवको विषयमा भने प्रहरीले केही सार्वजनिक गरेको छैन। तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको र कतिपयको खोजी जारी रहेको जनाइएको छ।
ललिता निवासको जग्गा २०४९, २०६२, २०६६/६७ र २०६९ साल गरी चार चरणमा हिनामिना भएको र यो कार्यमा विभिन्न उच्च पदस्थ व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ। जसमध्ये पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १२ जना पक्राउ परिसकेका छन् ।
२०४९ सालमा १ सय १२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको थियो। २०४९ कात्तिक २५ मा मालपोत कार्यालय डिल्लीबजार मिसिल नम्बर १०२४ अन्तर्गत २६ रोपनी ६ आना १ पैसा जग्ग्गा सुवर्णशमशेरका हकवाला भन्दै सुनीति राणा, शैलजा राणा, रुक्मशमशेरसमेतको नाममा जग्गा दर्ता गर्ने निर्णय गरेको देखिन्छ। यसरी २६ वटा कित्ता जग्गा राणा परिवारको नाममा दर्ता गरिएको छ।
२०४९ कात्तिक २५ मा नै मिसिल नम्बर १०२५ अन्तर्गत ४९ रोपनी ३ पैसा जग्गा शैलजा राणा, हेमनशमशेर, हाटकशमशेरको संयुक्त नाम दर्ता गर्ने निर्णय गरिएको थियो। यसमा २७ कित्ता जग्गा थिए। २०४९ पुस २९ मा नै मिसिल नम्बर १०२४ अन्तर्गत २८ रोपनी १५ आना १ पैसा जग्गा रुक्मशमशेर, शैलजा राणा र सुनीति राणा संयुक्त रूपमा दर्ता गर्ने निर्णय भएको थियो। यसमा १९ कित्ता थिए। २०४९ पुस २३ मा नै १०२५ नम्बरको मिसिल खडा गरी ७ रोपनी १४ आना जग्गा शैलजा राणा, हेमनशमशेर र हाटकशमशेरको संयुक्त नाममा नाम सारी गर्ने निर्णय मालपोत भएको देखिन्छ। यसमा ४ कित्ता थिए।
मिसिल नम्बर १०२४ र १०२५ नै गायब पारिएका छन्। मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता)मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। यो बेला सुनीति राणाको नाम छुट दर्ता गरिएको थियो।
२०६६/०६७ मा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएको मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ। यो समय माधवकुमार नेपाल प्रधानमन्त्री थिए। यो बेला राजकुलो, बाटोसमेत व्यक्तिको नाम कायम गरिएको छ। कानुनविपरीत नक्कली मोही खडा गर्ने काम पनि यो बेला भएको छ। यो बेला भौतिक सचिव बस्न्यात थिए।
२०६९ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पशुपति टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ। टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
0 comment