काठमाडौं -  नेपाल सुपर लिग (एनएसएल)का उच्च पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर व्यवसायको सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको रकम खेल क्षेत्रमा लगानी गर्न पाउने नियम लागू गर्नका लागि पहल गर्न आग्रह गरेका छन्।

एनएसएलकी अध्यक्ष आश्रयता कार्की चौधरी, प्रबन्ध निर्देशक श्रीयान्स कार्की र प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बिहीबार बिहान प्रधामन्त्रीलाई भेटेर ‘सीएसआर कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले यो क्षेत्रमा पुर्‍याउन सक्ने सकारात्मक प्रभावका विषयमा ध्यानाकर्षण गराएको’ विज्ञप्तिमा उल्लेख छ।

भेटमा प्रधानमन्त्री पनि यसबारे सकारात्मक रहेको अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘उक्त अवसरमा अध्यक्ष चौधरीले नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपाली खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको भन्नेबारे जानकारी गराउनुभयो,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल सुपर लिगको पहिलो संस्करण कोभिड १९ ले नेपालभर लकडाउन चलिहरँदा बन्द रंगशालामा भएको थियो। पहिलो संस्करण बन्द रंगशालामै भए पनि वाहवाही पाएपछि दोस्रो संस्करणका लागि अक्सनसमेत भइसकेको थियो।

तर, ए डिभिजन लिगका क्लबहरूको तीव्र दबाबपछि अन्तिम समयमा पुगेर स्थगित भएको थियो। यद्यपि, नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले गत पुसमा नेपाल सुपर लिग आयोजनाका लागि अधिकार दिने सम्झौता गरिसकेको छ।

त्यसबापत एन्फाले आठ वर्षमा १७ करोड २१ लाख रूपैयाँ एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनएसइएम)बाट पाउने छ।