काठमाडौं - नेपाल भलिबल लिग (एनभीएल) टोली सगरमाथा स्म्यासर्सले आफ्नो जर्सीमा मुख्य प्रायोजकको स्थानमा कुनै व्यावसायिक संस्थाको लोगो नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर राख्ने निर्णय गरेको छ । 

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगरमाथाले व्यावसायिक संस्थाको लोगो नराखी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर राख्ने निर्णय गरेको जनाएको छ । 

रसुवा, नुवाकोट, धादिङ, गोरखासहित त्रिशुली नदी आसपासका बाढीप्रभावित क्षेत्रमा राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सहयोग पु¥याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा होस् भन्ने उद्देश्य अनुरुप क्यूआर राख्ने निर्णय गरेको सगरमाथाले जनाएको छ । सगरमाथा स्म्याससले विपतमा ज्यान गुमाउने सबै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र खोजी, उद्धार तथा प्रभावितहरूको सुरक्षित पुनस्र्थापनाको पनि कामना गरेको छ । 

विपदको घडीमा सबैले आआफ्नो ठाउँबाट गरेको सानो प्रयासले पनि सरकार र सम्बन्धित निकायलाई ठूलो बल पुग्छ भन्ने उद्देश्य अनुरुप यो निर्णय गरिएको सगरमाथा स्म्याससले जनाएको छ ।