काठमाडौं - रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा उठाउनु पर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद रेग्मीले प्रधानमन्त्रीको आसन्न राष्ट्रसंघ महासभा भ्रमणमा नेपालले क्षतिपूर्ति माग्ने शैलीमा भन्दा पनि वैज्ञानिक तथ्य र डेटाका आधारमा संसारलाई नै नेतृत्व गर्दै जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्ने बताएका हुन्।
नेपालसँग जलवायु परिवर्तनका कारण हिमताल र हिमनदी पग्लिरहेको यथेष्ट प्रमाण रहेको उनले बताए । साथै उनले इसिमोड लगायत अमेरिका, चीन, र भारतका सरकारी लगानीका विश्वविद्यालय तथा इन्स्टिच्युटका ‘पियर–रिभ्युड’ जर्नलहरूले समेत हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धि भई हिउँ पग्लने दर उच्च भएको पुष्टि गरेको उल्लेख गरे ।
नेपालका विश्वविद्यालय, इसिमोड, र अनुसन्धान संस्थाहरूका वैज्ञानिक डेटालाई एकीकृत गरी एउटै बलियो राष्ट्रिय धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न उनले सरकारलाई सुझाव दिए ।


0 comment