काठमाडौं – ठोस कणहरु तथा तरल द्रवहरु ग्यासमा छरिएर बनेको मिश्रणलाई धुवाँ भनिन्छ । कुनै वस्तुलाई बाल्दा ताप, प्रकाश तथा धुवाँ निस्कन्छ । वस्तुलाई बाल्दा निस्कने कार्बोन परमाणुहरु र बल्ने वस्तुको साना साना टुक्राहरुलाई तातो हावाले उडाएर लैजाँदा आपसमा एक अर्कासँग जोडिन गई साना साना कणहरु बन्छन् र कुनै ठाउँमा जम्मा हुन गई ध्वाँसो बन्दछ । त्यसैले ध्वाँसो भनेको कार्बोन कणहरु जम्मा भएर बनेको वस्तु हो । धुवाँको रङ धुवाँ निस्कने वस्तुमा निर्भर गर्दछ । कोइलाको धुवाँबाट धेरै कार्बोन कणहरु ग्याससँग छरिएर निस्कने भएकोले कालो देखिन्छ । काठको धुवाँ प्रायः फिक्का रङको देखिनु सेलुलोज कणहरुले गर्दा हो । त्यस्तै अरु पनि विभिन्न प्रकारका धुवाँहरु छन्ः जस्तै, रासायनिक धुवाँ, धातुको धुवाँ, चुरोटको धुवाँ आदि । तरल कणहरु हावामा छरिएर बनेको धुवाँ खैरो तथा सेतो देखिन्छ । दाउरा बाल्दा धुवाँको रङ सेतो देखिनुको कारण धुवाँमा कार्बोन कणहरु सेलुलोज तथा पानीका थोपाहरु ग्याससँग मिश्रणको रुपमा भएर हो र कुनै ठाउँमा गई कार्बोन कणहरु तथा अन्य वस्तुहरु मिश्रित अवस्थाबाट छुट्टीइ जम्मा हुने भएकाले वस्तुको रङअनुसार देखिने हुन्छ । अर्थात् कार्बोन कणहरु धुवाँमा बढी आउने भएकोले कालो देखिएको हो ।
चुरोटको धुवाँ सेतो देखिनुको कारण पनि चुरोट जलाउँदा यसबाट निस्कने सयभन्दा बढी यौगिक तथा तारहरु ग्याससँग मिलेर बनेको मिश्रण हो र यो कुनै ठाउँमा घनिभूत गराउँदा मिश्रित अवस्थाबाट यी वस्तुहरु छुट्टीइ टार तथा अन्य वस्तुले गर्दा पहेँलो खैरो अथवा कालो रङ देखिन्छ ।
0 comment