काठमाडौं – आकाशमा तारा जस्तो दीप्त वस्तुहरु तथा अन्य अदीप्त वस्तुहरु अनगिन्ती संख्यामा रहेका छन् । ती प्रत्येक वस्तुहरुको निश्चित पिण्ड हुन्छ र ती पिण्डहरु एक अर्काबीच गुरुत्वबलको कारणले आकाशमा अडिएका हुन्छन् । विभिन्न जीवित वस्तुहरुको जस्तै ताराको पनि जन्म, जीवन र मृत्यु हुन्छ । अन्तरिक्षमा यसरी तारा जन्मने र मर्ने प्रक्रिया निरन्तर भइरहेको हुन्छ तर प्रत्येक ताराको जीवन खर्बाै वर्ष हुने भएकोले हामी एउटा ताराको सबै अवस्थाहरु नियाल्न सक्दैनौं । अन्तर तारकीय माध्यममा भएका पदार्थका स–साना कणहरु एकअर्कामा आकर्षित हुँदै जाँदा ठूलो पिण्ड बनी विभिन्न चरण पार गर्दै ताराको जन्म हुन्छ । नाभिकीय प्रतिक्रिया वा न्यूक्लियस, हाइड्रोजन र हिलियममा परिणत हुने प्रक्रिया मार्फत ताराबाट निरन्तर ताप र प्रकाश शक्ति पैदा हुन्छ । अन्त्यमा एक भयानक विस्फोट पश्चात् ताराको अन्त्य हुन्छ र फेरि यसका कणहरु पुनः अन्तरतारकीय माध्यममा जान्छन् । समयको अन्तरालपछि पुनः त्यही प्रक्रियाबाट तारा जन्मने र मर्ने प्रक्रिया निरन्तर चलिरहन्छ ।
ताराको गुरुत्वबल पृथ्वी भन्दा अत्यन्तै धेरै हुने हुनाले तारा कहिले पनि पृथ्वीतिर खस्दैन । तपाईले रातको समयमा देख्ने खसिरहेको चम्किलो वस्तु तारा नभई उल्का पिण्ड हो । यो अदीप्त पदार्थ जस्तैः चट्टान वा अन्य तत्वहरुको संयोजनबाट बनेका हुन्छ । पृथ्वी सूर्यको वरिपरि घुम्ने क्रममा वा सो वस्तु पृथ्वीको गुरुत्व आकर्षण क्षेत्रभित्र पर्दा पृथ्वीको गुरुत्वबलले गर्दा यसलाई आफ्नो केन्द्रतिर आकर्षण गर्दछ । त्यस कारणले गर्दा त्यो अत्यधिक तलतिर झर्छ । यसरी झर्ने क्रममा वायुमण्डलसँग घर्षण भई उत्पन्न तापको कारण यो जल्छ र पृथ्वी सतहभन्दा धेरै माथि बायुमण्डलमै बिलाउँछ । यसलाई उल्कापिण्ड भनिन्छ । कुनैकुनै उल्काहरु जल्न नपाउँदै वा पूर्णरुपले भष्म नभएको भाग पृथ्वी सतहसम्म पनि आइपुग्छन् । तिनीहरुले यहाँ जनधनको क्षति पुर्याउँछन् साथै भूकम्प आउने सम्भावना पनि सिर्जना गर्न सक्दछन् । आजभन्दा साढे छ करोड वर्ष पहिले यस्तै एउटा ठूलो उल्कापिण्ड खसेर पृथ्वीमा ठूलो प्रलय नै आएको थियो । जसका कारण डाइनोसर लगायत थुप्रै जीवको अस्तित्व लोप हुन पुग्यो । तर यसको बाबजुद पृथ्वीभन्दा बाहिर निर्मित वस्तु यहाँ खस्ने भएकोले उक्त वस्तुलाई अध्ययन गरी अन्तरिक्षको बारेमा अध्ययन अनुसन्धान गर्न सकिन्छ । यस्ता वस्तुहरु सौर्य परिवारमा धेरै पाउन सकिन्छ र यिनीहरु पनि सूर्यको वरिपरि घुमिरहेका हुन्छन् । एउटा उल्का पृथ्वीमा खस्यो वा वायुमण्डलमै बिलायो भने पनि अन्य उल्काहरु निरन्तर बनिरहेकै हुन्छन् र अन्य ग्रह वा उपग्रह तिर पनि खस्ने गर्छन् ।
0 comment