डा. शास्त्रदत्त पन्त 


नेपाली नागरिकलाई इन्डियनहरुले पलपलमा ज्यादती गरेका छन् । लुट्ने, ठग्ने मात्र हैन हत्या समेत गर्ने गर्दछन् । सीमा नजिक बस्नेहरुमाथि भारतीय पक्षबाट पटकपटक दुर्व्यवहार हुने गरेको छ । सर्वसाधारण नेपालीलाई एसएसबीले केरकार गर्छन्, खानतलासी गर्छन्, हप्की दप्की गरेर सताउँछन् । 
वि.सं. २०७८ श्रावण १५ गते शुक्रबारका दिन व्यास गाउँपालिका माला गाउँ २ दार्चुलाका जय सिंह धामीले डोरी रुखमा बाँधेर साधारण तुइनबाट तरिरहेका बेला एस.एस.बी. का जवान आएर रुखमा बाँधेको तुइन फुकालिदिएर ४ मिनेट पनि नपर्खेर जयसिंह धामीलाई अमानवीय तरिकाबाट महाकालीमा खसालेर हत्या गरिदिए । 


भारतले कुनै पनि कुरामा नेपालसित विशेष सम्बन्ध छ भनेर अरु देशको सम्बन्धलाई टढ्याउने काम गर्ने आधार नै खुलासीमा पद्धति हो । सेना पनि होइन, सामान्य नेपाली नागरिक तुइन तरेर भारत प्रवेश गरेका कारण जयसिंह धामीलाई मृत्युदण्ड दियो । उनी अस्थाइ तुइनबाट भारत प्रवेश गरेबापत यो दण्ड दिइयो । 


प्रायः यस्ता घटनामा कुटनीतिक नोट पठाइन्छ, त्यो पनि पठाइएको छैन । नागरिकको सुरक्षाको प्रस्न भएकोले नेपाली राजदूतले चासो देखाउनुपर्छ, त्यो पनि भएको पाइएन । परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई बोलाएर ध्यानकर्षण गराउने काम पनि भएन । आम जनता चिल्लाएपछि दश दिनको समय सीमा तोकेर गृहले ३ दिन पछि छानबिन टोली सम्म गठन गरेर ५ दिनमा जिल्ला पुग्यो । 


साढे चार बर्ष पहिले फागुन २६ गते २०७३ का दिन कन्चनपुरको पुनर्वास क्षेत्रमा एस.एस.बी.को एक जवानद्वारा स्थानीय निरपराधी बासिन्दा गोविन्द गौतमलाई दिउँसै सार्वजनिक स्थानमा गोली हानी हत्या गरियो । सो स्थान २०२४ सालदेखि पुनर्वासले व्यवस्थित गाउँ बसाएको थलो हो । त्यसबेलादेखि बसेको गाउँ नै भारततिर पर्छ भनेर भारतीय सीमाबलले नेपालतिर आएर सडक बनाउन लाग्दा गोविन्द सहितका स्थानीय वासिन्दाले त्यसको विरोध गरेका थिए । इण्डिया आजसम्म चुपचाप बसेको छ, नमाफि मागेकोछ न त क्षतीपूर्ति दिएको छ । 


तर स्वयम् इण्डियाले भने यस्ता कुरा पटक्कै सहँदैन । सन् २०१२ को फेब्रुअरीमा इटलीका मछुवार र भारतीय मछुवारबीच झडप भयो । त्यसमा भारतीय २ जनाको ज्यान गयो । त्यस विरुद्ध सन् २०२१ सम्म भारतले मुद्धा लडिरह्यो, कुटनीतिको संहार गर्ने प्रयत्न पनि गरेन । आखिर इटलीले १० करोड भारतीय रुपयाँ क्षतीपुर्ति दिएपछि मात्र इण्डिया चूपलागेर बसेको थियो । व्यासवासी सहित आम नेपालीको माग छ एस.एस.बी. को अपराध जघन्य हो । दोषीलाई अधिकतम् दण्ड गरेर पीडितलाई इण्डियाले इटलीबाट लिए सरहको रकम क्षतिपूर्ति दिइयोस् । 


सन् १९६० मा चीनीयाँ सेनाले नेपालभित्र परेर नेपाली सेनामाथि आक्रमण गरेर एक जनाको हत्या गरेको थियो । नेपालले तत्काल बिरोध गरेपछि चीनका प्रधानमन्त्री “चाउएनलाइ” ले माफी मागेर पीडकलाई रु ५०,००० क्षतिपुर्ति पनि दिएका थिए । यो नैतिकता मात्र होइन राज्यको न्याय पद्धतिलार्य स्विकारेको पनि हो । प्रजातान्त्रिक अभ्यास पनि हो । चुप बसिरहनु भारतको तानशाही गोरा प्रवृति र मुर्खपन पनि हो । 


एस.एस.बी. का जवानले २३ फागुन २०७३ का दिन बेलौरी नगरपालिका–१० का भुडाका स्थानीय कृष्ण रानालाई मरणसन्न हुनेगरी कुटपिट गरियो, त्यसको पनि कुनै कारबाही भएन, नेपालको सरकार पनि टाङमुनि मुन्टो झुकाएर बसिरह्यो ।


चैत्र १० गते २०७३ का दिन भीमदत्त नगरपालिका–९, ब्रह्मदबका श्री प्रेमसिंह नायक, केशवसिंह नायक, वीर सिंह ठगुन्ना, ठगुन्नाकी धर्मपत्नी कलावति ठगुन्ना र उनका छोरा हिक्मतसिंह ठगुन्नालाई बिनाकारण घरमै आएर कुटपिट गरेका थिए । त्यसको पनि भारत नेपाल कसैले वास्ता गरेका छैनन् । 
सम्वत् २०७५ बेशाखमा पुनर्वास नगरपालिका–९, स्थित बीचफाँतमा लगाएको तारबार भारतीय सीमाबलका मानिस आएर उखेलिदिएका थिए । नगरपालिकाले प्यारातालमा नेपाल पक्षबाट ठेक्का दिएकोमा त भारतीय वन विभागले ठेकेदारबाट एस.एस.बी.को आडमा बिना आधार आधा माछा लिने गरेका विरोधमा कसैले प्रतिकार गरेको छैन । 


जेठको पहिलो साता २०७५ बेलौरी नगरपालिका–१०, भुडाका स्थानीय किसान खेमराज पन्तलाई उनको आफ्नै जग्गामा खेती लगाउनबाट वञ्चित गराइयो । न त त्यसमाथि कारबाही भायो न किसानलाई कसैले क्षतिपुर्ति नै दियो । जबकि नेपाल–भारत दुबैले आफुलाई ठूलो प्रजातन्त्रबादी भनेर कुर्लन्छन् । 


सम्वत् २०७५ साल असार महिनामा भारतीय एस.एस.बी.ले हतियार देखाएर पुनर्वास नगरपािलका–८, पचुईमा हुलाकी सडक निर्माणमा अवरोध गरे, निर्माण हुन दिएनन् । त्यसयता पनि चारपटकसम्म आएर हुलाकी सडकको काम अवरुद्ध गरेका छन् । काम अगाडि नबढाउन धम्की दिएका छन् । भारत–नेपाल मौन छन् । 


सम्बत् २०७६ साल चैत्र महिनामा भीमदत्त नगरपालिका–९, ब्रह्मदेवमा मुक्तहलियाका चार परिवारको घर परिवारको घर निर्माण गर्दा भारतले अवरोध गरेकोले बन्नै दिएनन् । काम अलपत्र रह्यो । 


असार महिना २०७७ सालमा ब्रह्मदेवमै सिद्धनाथ सामुदायिक वनले आफ्नै क्षेत्रमा बृक्षरोपण गर्दासमेत बल प्रयोग गरेर एस.एस.बी. ले रोक्यो । उत्तः अवरोधका बाबजुद पनि सामुदायिक वनले बृक्षरोपण गरेको थियो । तर पनि २०७६ साल मै त्यहाँ नेपालको आफ्नो भूभागमा सडक बनाउन दिएन, त्यही जेठ ०७८ मा सडककमा पर्ने कल्भर्ट निर्माण गर्न पनि दिइएन । 


साउन महिना २०७७ सालमा एस.एस.बी को जत्था हतियार सहित फिल्म शैलीमा आएर हुलाकी सडकको निर्माण अवरोध गरेको थियो । 
बेलौरी नगरपालिका–१, फटैयाका स्थानीय मानबहादुर सुनार र कर्ण सुनारको लालपुर्जा भएको जमिनलाई दुइ दशकदेखि उपभोग गर्नबाट रोकिएको छ । भारतको बल मिचाईलाई भारतलाई मालिक मान्ने नेपाली दलका नेता आजसम्म मौन बसेका छन् र किसानले कष्टकर जीवन बिताएका छन् । 
सम्बत् २०७७ सालमा बेलौरी –१०, कै सडकघाट क्षेत्रमा किसानलाई आफ्नो खेतमा लगाएको बाली भित्र्याउन दिइएन । त्यहाँका किसान मर्कामा रहिरहेका छन् । 


चैत्र २०७३ भारतको जंगलमा भैंसी चराएको भनेर कैलारी गाउँपालिका–७, का तुलाराम चौधरीलाई पक्राउ गरी ५० हजार भारु जरिवाना तिराएर छाडेको थियो । 


कार्तिक–मंसिर २०७४ मा दशगजामा विवाद हुँदा भजनी नगर पालिका–३, मा नेपाल सरकारलाई बेवास्ता गरेर बीएसएन का जवानले स्थानीय किसानको करिब १० बिघा जमिनमा ट्याक्टरद्वारा बाली मास्न खेत जोतेको थियो । 


सम्बत् २०७५ माघमा धनगढीसँगै जोडिएको कञ्चनपुरको पुनर्वास–११, डोकेबजार स्थित दशगजामा अन्तर्राष्ट्रिय मान्यताविपरित नेपालसँग समन्वय नगरी भारतको वन विभागले एसएसबी खटाएर टे«न्च निर्माण गरेको छ । 


सम्बत् २०७७ माघमा कैलारी गाउँपालिकाको नेपाली बस्ती शिवरत्नपुरमा तारबार गर्न सिमेन्टका पोल लिएर गएको ट्रयाक्टरलाई पनि नेपालका मोहना नदीबाट नियन्त्रणमा लिएको थियो । धेरैपछि छोडेको थियो । 


नेपालको मोहना नदीमा माछा मार्न गएका कैलारी–३ का हिरामणि चौधरी, जालुराम चौधरी, जंगबहादुर चौधरी सहित पाँच जनालाई बी.यस.एफ का जवानले नियन्त्रणमा लिएका थिए । करिब १०–११ बर्ष अधिको यो घटनामा उनीहरुलाई जनही आठ–आठ हजार भारु तिराएर छोडेका थिए । 
सम्बत् २०७१ साउन ११ गते भारतसँग सिमाना जोडिएका राजपुर गाउँपालिका वडा नम्बर–७ स्थित भैसाही नाकामा भारतीय एस.एस.बी का जवानहरु को ठोरी ठुटबाट नेपालको चाकीमै आएर नेपाली प्रहरीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट तत्कालीन प्रहरी हवल्दार हरिबहादुर बुढाथोकी र एक प्रहरी जवान घाइते भएका थिए । 


माडी गाउँपालिका चितवानको सोमेश्वर गढीमा रहेको मन्दिरमा हरेक चैतेदसैंमा मेला लाग्छ । भारतीय फोर्स हतियार सहित नेपाल प्रबेश गरेर त्यस स्थानमा हंगामा गरेका थिए । नेपालको भूमिमा नेपालको मन्दिरमा नेपालीलाई फोटो खिच्नसमेत रोक लगाएका थिए । 


नेपालले पर्सोखोलाको पुल बनाएको छ । तर त्यो पुल संचालन गर्नलाग्दा १५ जेठ २०७७ सालमा भारतीय प्रहरीले अवरोध गरेर सञ्चालन गर्न अवरोध खडा गरेका थिए । सम्बत् २०६८ मा पनि उक्त पुल बनाउन एस.एस.बी. ले अवरोध सिर्जना गरेको थियो । भारतीय सुरक्षा फौजको जनप्रतिनिधिको पहलमा सञ्चालन गरिएकोमा भारतीय सुरक्षाकर्मीले हतियार सहित बर्दीमा नेपाली भूमिमा आएर पुल सञ्चालन गर्न फेरि अवरोध गरेका थिए । जबकि नेपाल भारतको संयुक्त सीमा सर्भे टोलीले २०७२ मा सर्वेक्षण गरी सीमा–स्तम्भ राखेपछि पुल निर्माणको काम सुरु भएको थियो । 


सम्वत् २०७२ साउन १२ गते नेपाली भूमिबाट बगेको कुलो भरतीयले जबर्जस्ती भत्काइदिएपछि पर्साको ठोरीमा नेपाली र भारतीय बीच झडप भएको थियो । नेपाल प्रहरीका जवानसहित चारजना नेपाली गम्भीर घाइते भएका थिए । 


सम्बतु २०७७ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सास्थित ठोरी रहेको अभिव्यक्ति दिएपछि नेपाल र भारत सीमा छुट्याउन सीता गुफा रहेको सुमेरु पहाडमा गडिएको ४३६ नम्बरको पिलर भरतीय एस.एस.बी को बलले उखेलेर भारतीर लगेर फालेका थिए । सो खम्बा ठोरीगाउँपालिका–२, मा पर्ने सीतागुफा रहेको पहाडको शिरमा भेटिएको थियो । 


सिराहामा नेपालतर्फको दसगजा मिचेर भारतीय पक्षले भन्सार चेकपोष्ट सञ्चालन गर्दै आएको छ । 


सम्बत् २०७६ माघ दोस्रो हप्तामा भगवानपुर गाउँपालिका–४ मा नेपाली सशस्त्रको ड्युटी पेस्टसमेत बनाउन नदिएपछि स्थानीय बासिन्दबीच चर्को विवाद भएको थियो । 


त्यसलगत्तै नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर–२ जलेश्वरका नेपाली सर्वेक्षण उमेशकुमार र भारतीय सर्वेक्षण मञ्जुल अमगाईले स्थलगत अनुगमन गरेपछि माघ २१ गते देखि पोस्त निर्माण गर्न पाएका थिए । 


सम्बत् २०७५ साल फागुनको पहिलो हप्तामा भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जोसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि ठाढीका वासिन्दाबाट ढुँगामुढा भएको थियो । तर त्यसको महनिा दिनपछि भरतीय पक्षले थाहै नदिई पुनः निर्माण गरेका थिए । 


कोरोना महामारी सुरु भएसँगै नाका बन्द भएको बेला भारतीय पक्ष लुकिछिपि र जबर्जस्ती नेपाल सीमा प्रबेश गर्न खोज्थे । उनीहरुसँग नेपालीको पटक–पटक झडप भएको थियो । लुकीछिपि नेपाल प्रबेश रोक्न खोज्दा १ बेशाख २०७७ मा पनि सिराहा नगरपालिका १९ सोहर्वा र १२ बैशाखमा सिराहा नगरपालिका १७ माडरनाकामा समेत सशस्त्र प्रहरीसँग झडप भएको थियो । 


सम्बत् २०७७ बैशाख १ मा सिराहा नगरपालिका १९ सोहर्वामा दूध लिएर नेपालतर्फ प्रवेश गर्न खोजेका एक भारतीयलाई सशस्त्र प्रहरीले रोकेपछि सीमापारिबाट आएका करिब २०–२५ जनाको समुहसँग झडप भएको थियो ।