काठमाडौं – सुत्नु एक अति आवश्यक प्रक्रिया हो । साधारणतया मानिसहरुले आफ्नो जीवनको ३३ प्रतिशत समय सुतेरै बिताउँछन् । हुनत सुत्नु एक अचेत शारीरिक अवस्था हो, तर यस समयमा मानव मस्तिष्कले सक्रिय रुपमा कार्य गरिरहेको हुन्छ । सुत्नुले शरीरको भित्री अङ्गहरुलाई नियमित कामहरु गराई, शारीरिक थकान मेटाइ, शरीरमा स्फूर्ति प्रदान गर्दछ । वैज्ञानिक दृष्टिकोणले स्वस्थ्य रहनको लागि मानिसले दैनिक ७१÷२ घण्टा जति सुत्नु अत्यन्त आवश्यक छ । 

मुसाहरुमा गरिएको एक अनुसन्धान अनुसार मुसाहरुलाई सुत्न नदिइ पाल्दा साधारणतया २–३ वर्ष बाँच्ने मुसा ३ हप्ताभित्र मरेको पाइयो । यसले के जनाउँदछ भने– निन्द्राले आयु लम्बाउन मद्दत गर्दछ । 

यदि हामीहरु २४ घण्टा भन्दा बढी समयसम्म नसुतेर बिताउने हो भने हाम्रो शरीरभित्र नियमित रुपमा भइरहने प्रोटीनको उत्पादनमा कमी आउँछ र जसको फलस्वरुप शरीरको तापक्रम घट्न जान्छ । हाम्रो मस्तिष्क थाक्न थाल्दछ । झनक्क रिसाउने र अधैर्य हुने व्यवहारहरु देखिन थाल्दछ र मस्तिष्कले सोच्न सक्ने क्षमतामा कमी आउँछ । 

कम सुत्ने मानिसको शरीरमा, हार्मोनको मात्रा असन्तुलन हुन थाल्दछ, जसको कारण शरीरको प्रतिरोधात्मक शक्तिमा ह्रास आउँछ । पाचन प्रणालीमा असर पर्दछ र शरीरमा कार्बोहाइड्रेट जम्मा हुँदै जाँदा मानिसको तौल बढ्दै जान्छ र क्रमशः मुटुको चाल अनियमित हुँदै उच्च रक्तचापको लक्षण देखा पर्दछ । शरीरलाई दैनिक आवश्यक पर्ने नियमित सुताइले शरीरको अर्बुद्ध रोगसँग लड्ने क्षमतामा वृद्धि हुने विश्वास गरिएको छ । तर हामीले अति गर्नु अति साह्रो नगर्नुू भन्ने कथनलाई चाहिँ बिसर्नु हुँदैन । आवश्यकताभन्दा बढी सुत्नु भनेको प्राकृतिक नियम र जीवनचक्रको विपरीत हो, यसबाट हाम्रो शरीर अल्छी बन्दै जान्छ र आर्थिक, सामाजिक र शारीरिक रुपमै नकारात्मक असरहरु देखा पर्न थाल्दछन् । 

मानिस सुत्दा र सुतेका कुनै क्षणहरुमा चलचित्रको पर्दामा देखिएझैँ देखिने आकृतिहरु, विचारहरु, भावनाहरु, ठाउँहरु, क्रियाकलापहरु र तरङ्गहरु नै वास्तवमा सपना हुन् । सपनामा देखिने विषयवस्तुहरु यसका उद्देश्यहरु, यसका कारणहरु यसका अर्थहरु र यसलाई तरङ्गित गर्ने स्नायु प्रणालीको अङ्ग र यसको कार्यशैली बारे अझैसम्म पनि प्रस्ट्याउन सकिने अवस्था छैन । एक जनाले देखेको सपना न अर्काले देख्न सक्छ, न त सपनालाई कुनै माध्यमले रेकर्ड नै गर्न सकिन्छ, यो त केवल मानिसको परिकल्पना मात्र हो, जसलाई आ-आफ्नो तरिकाले व्याख्या गरेको पाइन्छ ।

सन् १९५२ मा अनुसन्धानकर्मी युजेन आसेरिन्स्की ले आँखाको ढकनी बन्द गरी सुतिरहेको मानिसको आँखाको नानी छिटो–छिटो चलबलाइरहेको चाल पाए जसलाई Rapid Eye Movements Sleep अर्थात् REM Sleep भनी नाम दिइयो । यस अवधिमा एउटा पोलिग्राफ मेशिनले जाँच गर्दा उक्त मानिसको मस्तिष्कले क्रमिक रुपमा काम गरिरहेको कुरा थाहा पाए । मानिसलाई ब्युँझाएर सोध्दा, उसले सपना देखिरहेको कुरा वर्णन गयो । यसको अर्थ सुतिरहेको अचेत अवस्थामा पनि मस्तिष्कले गरिरहने काम र त्यसबाट प्रवाह हुने आन्तरिक सञ्चार र तरङ्गहरुले गर्दा सपना देखिएको हो । 

अर्का अनुसन्धानकर्मी “जिये चाङग” का अनुसार मानव मस्तिष्क कम्प्यूटरको केन्द्रीय प्रणाली सि.पि.यू. जस्तै हो । मानिस सुतिरहेको अवस्थामा मस्तिष्कले नचाहिने र अपूर्ण स्मृतिका तथ्याङ्क वा सूचनालाई मेटाइरहेको हुन्छ । त्यस्तै चाहिने र क्षणिक स्मृति तथ्याङ्कलाई सुरक्षित गरिरहेको हुन्छ । यसरी स्मृतिका तथ्याङ्कहरु प्रशोधन गर्ने क्रममा मानिसले सपना देख्दछ । यस्तो प्रशोधन कार्यले गर्दा मानिसको सम्झना शक्तिको वृद्धि हुन्छ, ठीक त्यस्तै गरी जसरी कम्प्युटरमा Memory Space बढाउँदा कम्प्युटर छिटो चल्छ । जसरी कम्प्युटरले फरक–फरक फाइल मेटाउने या जोगाउने गर्दछ, त्यसरी नै मस्तिष्कले पनि फरक–फरक विषय वस्तुका स्मृतिका सूचनालाई प्रशोधन गरिहेको हुन्छ, फलस्वरुप हामीले सपनामा विभिन्न प्रसङ्गहरु देख्छौ । 

हामीले एक पटक सुत्दा करिब २ घण्टा जति सपना देख्छौ र त्यो पनि ४-५ पटक गरेर र प्रत्येक पटकको सपना ५ देखि २० मिनेट सम्मको लामो हुनसक्छ । धेरै जसो सपना हामी उठिसकेपछि बिर्सन्छौ र कुनै कुनै सपना मात्र केही समयको लागि याद रहन्छ र त्यो पनि कथा नमिलेको प्रसङ्ग जस्तै ।