काठमाडौं - नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध ३ विकेटको जित निकालेको छ। 

शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियाविरुद्ध २७५ रनको लक्ष्य पाएको थियो। उत्कृष्ट ब्याटिङको प्रदर्शन गरेको नेपालले ४७.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ३ विकेटको जित निकाल्यो। जारी शृंखलामा नेपाललाई लगातार तेस्रो जित दिलाउन ओपनर आसिफ शेख, ज्ञानेन्द्र मल्ल तथा कुशल मल्लले अर्धशतकीय इनिङ खेले।

नेपालका लागि ९८ बलको सामना गरेका आसिफले ८ चौका र २ छक्कासहित ८१ रनको योगदान गरेका थिए। आसिफसँग नेपालको एकदिवसीय इतिहास मै सर्वाधिक एक सय ३९ रनको साझेदारी गर्दै ज्ञानेन्द्रले पनि ७४ बलमा पाँच चौका र ३ छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ खेले।

चौथो नम्बरमा ब्याटिङमा उत्रिएका कुशल मल्लले ४९ बलमा ६ चौका र चार छक्कासहित ६२ रनको इनिङ खेल्दा कप्तान रोहित ४३ बलमा पाँच चोकासहित ३ढ रन बनाएर पेभेलियन फर्के। कुशल मल्लको जारी शृंखलामा यो दोस्रो अर्धशतक हो। यसअघि शुक्रबार स्कटल्यान्डविरुद्ध ६७ बलमा ९ चौका र चार छक्कासहित ८१ रनको शानदार इनिङ खेलेका थिए।

अर्का ओपनर कुशल भुर्तेल एक रनमा पेभेलियन फर्केका थिए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका दीपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फकिँदा सन्दीप जोरा ३ रनमा आउट हुँदा र सोमपाल कामी ८ तथा गुल्शन झा खाता नखोली अविजित रहे।

पहिलो इनिङमा नामिबियाले ६ विकेट गुमाएर २७४ रनको योगफल बनाएको थियो। भ्रमणकारी टिमका लागि रुबेन ट्रम्पेल्म्यानले सर्वाधिक ३ विकेट लिँदा बर्नार्ड स्कोल्जले २ तथा पिकी या फ्रान्स र टाङ्गेनी लुङ्गामेनीले एक–एक विकेट लिए।

पहिलो इनिङमा नामिबियाका लागि विकेटकिपर ब्याटर जेन ग्रीनले ७५ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए। त्यसबोहक पिकी या फ्रान्स ४९ रनमा आउट हुँदा ओपनर लो हान्द्रे लौरेन्सले ४१ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा करण केसीले एक विकेट लिएका थिए।

जारी शृंखलामा नेपालको यो लगातार तेस्रो जित हो। पहिलो खेलमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गरेको नेपालले शुक्रबार २७५ रनकै लक्ष्य पूरा गरेको थियो।

यो शृंखला सुरु हुनुअघि नेपालले सबैभन्दा ठूलो लक्ष्य २५५ रनको मात्रै पूरा गरेको थियो। नेपालले शृंखलाको अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्ने छ। जितसँगै नेपालले २७ खेलबाट लिग-२ तालिकामा २४ अंक जोडेर छैटौं स्थानमा छ। स्कटल्यान्ड यसअघि नै च्याम्पियन बनिसकेको छ। नेपाललाई शीर्ष तीनमा पर्न बाँकी ९ वटै खेल जित्नु पर्ने दबाब छ।