काठमाडौं - झापाको बिर्तामोडमा आयोजना हुन लागेको राष्ट्रियस्तरको तेस्रो ‘मिस्टर कञ्चनजङ्घा’ खुला शारीरिक सुगठन प्रतियोगिताको ओभरअल च्याम्पियन बन्ने खेलाडीलाई थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी गराउने सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने भएको छ।
आयोजक बडी ग्यारेज शारीरिक सुगठन क्लबको बैठकले ओभरअल च्याम्पियनलाई आगामी नोभेम्बर १३ देखि १६ तारिखसम्म थाइल्यान्डको पटायास्थित ब्राइटन ग्रान्ड होटल एन्ड कन्भेन्सनमा हुने आइएफबिबीएसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको हो।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घ कोशी प्रदेशका अध्यक्ष आदित्य पराजुलीका अनुसार विजेता खेलाडीको प्रतियोगिता सहभागिता, आउजाउ तथा आवासको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्नेछ।
असोज २० र २१ गते आयोजना हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक बडी ग्यारेजले जनाएको छ। कार्यक्रम संयोजक राम दाहालका अनुसार पहिलो दिन 'प्रिजजिङ' र दोस्रो दिन 'फाइनल' प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा गराइनेछ भने महिलातर्फ खुला प्रतिस्पर्धा हुनेछ।
आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठका अनुसार ओभरअल विजेताले नगद रु. ५ लाख पुरस्कार पाउनेछन्। अघिल्लो संस्करणमा विजेतालाई रु. ३ लाख ११ हजार १११ प्रदान गरिएकोमा यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको हो।
प्रतियोगितामा दोस्रो हुनेले रु. ३ लाख, तेस्रोले रु. २ लाख, चौथोले रु. १ लाख, पाँचौँले रु. ७५ हजार र छैटौँ हुनेले रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, महिला खुला प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु. १ लाख, रु. ५० हजार र रु. २५ हजार प्रदान गरिने कोषाध्यक्ष शारदा दाहालले जानकारी दिइन्।
प्रत्येक तौल समूहमा दोस्रो हुनेले रु. ७ हजार र तेस्रो हुनेले रु. ५ हजार पाउनेछन्। अन्य तीन जनालाई ट्रफी तथा मेडल प्रदान गरिनेछ। प्रतियोगिताका विजेताहरूका लागि ट्रफी र मेडलको अनावरणसमेत गरिसकिएको छ।
देशभरबाट करिब २०० खेलाडी सहभागी हुने अनुमान गरिएको यस प्रतियोगिताको कुल बजेट करिब रु. ३५ लाख रहेको सचिव हिमाल खरेलले बताए। प्रतियोगिताले शारीरिक सुगठनको विकास र कोशी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।


0 comment