काठमाडौं - २३औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५/५ मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् ।

वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी मनोनित भएका छन् ।  

यसैगरी वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा तथा चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव समावेश भएका छन् ।

वर्ष प्रशिक्षकतर्फ बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटतर्फ स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री मनोनयनमा रहेको मञ्चका सदस्य एवं प्रवक्ता प्रजित शाक्यले जानकारी दिए ।

वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्ने मञ्चले जनाएको छ । यसपल्ट पनि कुल ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुँदैछन् । तीमध्ये पिपल्स च्वाइस विधाको मनोनयनमा फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आट्र्सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल छन् । पल्सर स्पोटर्स अवार्ड भदौ १८ काठमाडौंमा आयोजना हुने मञ्ले जनाएको छ ।