काठमाडौं - स्पेनका अधिकारीहरूले म्याड्रिड नजिक लागेको भीषण डढेलो अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर गएको चेतावनी दिएका छन्।
राजधानीको पश्चिम क्षेत्रमा लागेको तीनवटा छुट्टाछुट्टै डढेलो एकआपसमा मिसिएर विशाल आगलागीमा परिणत भएको हो।
डढेलो नियन्त्रणबाहिर गएपछि स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। म्याड्रिड आसपासका विभिन्न क्षेत्रमा आगो तीव्र रूपमा फैलिँदा कम्तीमा ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
म्याड्रिड क्षेत्रकी अध्यक्ष इसाबेल डियाज आयुसोले यसलाई "यस क्षेत्रको इतिहासकै सबैभन्दा भीषण डढेलो" भएको बताएकी छन्। उनका अनुसार अत्यधिक गर्मी, लगातारको तीव्र हावा र विभिन्न दिशाबाट फैलिएका आगोका मोर्चाहरू एकआपसमा मिसिँदा पूर्ण रूपमा प्रतिकूल अवस्था सिर्जना भएको छ।
यता दक्षिण-पश्चिम फ्रान्सको गिरोन्द र लान्द क्षेत्रमा फैलिएको डढेलोका कारण १ लाख १० हजारभन्दा बढी मानिसलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
शुक्रबार आगोको दिशा परिवर्तन भएर बोर्दो शहरतर्फ बढ्न थालेपछि थप मानिसलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले उद्धार तथा नियन्त्रण कार्यमा सहयोग गर्न सेनालाई परिचालन गरेका छन्।
स्पेनमा स्थानीय आपतकालीन सेवाका अनुसार डढेलो रोब्लेदो दे चाभेला र फ्रेस्नेदियास दे ला ओलिभा नगरपालिकातर्फ फैलिरहेको छ। यी क्षेत्रहरू राजधानी म्याड्रिडबाट करिब ५० किलोमिटर पश्चिममा पर्छन्।
म्याड्रिड क्षेत्रीय सरकारका आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभियोले पत्रकारहरूसँग कुरा गर्दै भने डढेलो अहिले आफ्नो सबैभन्दा तीव्र अवस्थामा पुगेको छ र यसलाई नियन्त्रण गर्ने क्षमता अग्निनियन्त्रकहरूसँग छैन।
उनले थपे "त्यस क्षेत्रमा प्रत्यक्ष रूपमा आगो नियन्त्रण गर्न सम्भव छैन। त्यसैले अहिले आगो थप फैलिन नदिन र जनधनको सुरक्षा गर्न रक्षात्मक उपायहरू अपनाइँदै छन्।"


0 comment