काठमाण्डौं – भारत वा तेस्रो मूलकबाट आयत हुने कुनै पनि खाद्यान्नको ल्याब परीक्षण हुदैन नेपाली भन्सारमा ।
जस्तै, उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल (काजु, बदाम) लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने यो कुनै नौलो कुरा होईन ।
उपभोक्ताको स्वास्थ्यमाथि यदि सरकारले ध्यान राख्ने हो भने, भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तुहरुको वैध तरिकाले खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको खाली क्वारेन्टिन जाँच मात्रै हुने गरेको पाईन्छ ।
सरकारले खानयोग्य वस्तु मात्रै भित्रियोस भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि प्रमाणीकरण कार्यालय स्थापना गरेको छ । भन्सार नजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई सिँधै उपभोक्तको भान्सामा पुग्ने गरेको छ ।
कुनै पनि खाद्य वस्तु खानयोग्य छ कि छैन भनि गुणस्तर चेक–जाँच हुन जरुरी छ । अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यन्नको गुणस्तर परीक्षण नै नभई भित्रिने गरेको छ ।
भन्सार विभागले जारी गरेको एकद्वार प्रणालीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के कस्तो वस्तु हो त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ । तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेन्टिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्छ तर उपभोक्ताले सिधैँ प्रयोग गने केही वस्तु चामल, दाल, गेडागुडी, मकै, तोरी, चियालगायतका वस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परिक्षण नै नभई भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ ।
भन्सारबाट आउने खाद्यन्नको गुणस्तर परीक्षण नहुने भएकोले तस्करी र खुला सीमाबाट आउने खाद्यन्न सरह हुने गरेका छन् । गुणस्तरहीन खाद्यन्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहेका छन् । जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।
0 comment