काठमाडौं - नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो सिजनमा आसिफ शेखले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। आसिफ शेखको लागि चितवन बाहेक ७ टिमले अधिकतम मूल्य २० लाखमा बोली लगाएका थिए।
लक्की ड्रबाट उनी लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। जनकपुर बोल्ट्सका पूर्व मार्की खेलाडी रहेका आसिफ शेख अब लुम्बिनीबाट खेल्ने भएका हुन्।
तृतराज दास जनकपुर बोल्ट्समा
क्याटगोरी ए मा रहेका तृतराज दासलाई अधिकतम मूल्य १५ लाखमा २ वटा टिमले बोली लगाएका थिए। उनलाई जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सले बोली लगाएका थिए।
लक्की ड्रबाट उनी जनकपुर बोल्ट्समा अनुबन्ध भएका हुन्। उनी यसअघि, पोखरा एभेन्जर्समा आबद्ध रहेका थिए।
लुम्बिनीमा फर्किए दुर्गेश गुप्ता
एनपीएलको तेस्रो सिजनको लागि दुर्गेश गुप्ता लुम्बिनी लायन्समा फर्किएका छन्। उनलाई उनको पूर्व टिम लुम्बिनी लायन्सले न्यूनतम मूल्य ५ लाखमा अनुबन्ध गरेको हो।
बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता पहिलो र दोस्रो सिजनमा लुम्बिनीमा नै रहेका थिए। पहिलो सिजन चोटका कारण धेरै खेल खेल्न नपाएका दुर्गेश दोस्रो सिजनमा भने प्रयोग नै भएका थिएनन्।
सुदूरपश्चिममा फर्किए दिपक बोहरा
एनपीएलको तेस्रो सिजनको लागि दिपक बोहरा सुदूरपश्चिम रोयल्समा फर्किएका छन्। क्याटगोरी बी मा रहेका दिपकलाई अधिकतम मूल्य १० लाखमा पोखरा एभेन्जर्सले बोली लगाएका थिए। लक्की ड्रबाट उनी घरेलु टोली सुदूरपश्चिममा फर्किएका हुन्।
रुपेश कुमार सिंह विराटनगर किंग्समा अनुबन्ध
एनपीएलको तेस्रो सिजनको लागि रुपेश कुमार सिंह विराटनगर किंग्समा अनुबन्ध भएका छन्।
क्याटगोरी ए मा रहेका रुपेश कुमार सिंहलाई अधिकतम मूल्य १५ लाखमा ४ टोलीले बोली लगाएका थिए।
उनलाई पोखरा एभेन्जर्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले बोली लगाएका थिए। उनी लक्की ड्रबाट विराटनगरमा पुगेका हुन्।
विवेक कुमार यादव चितवन राइनोजमा अनुबन्ध
एनपीएलको तेस्रो सिजनको लागि विवेक कुमार यादव चितवन राइनोजमा अनुबन्ध भएका छन्।
विवेकका लागि क्याटगोरी ए को अधिकतम मूल्य १५ लाखमा ४ वटा टिमले बोली लगाएका थिए।
जनकपुर बोल्ट्स , कर्णाली याक्स, विराटनगर किंग्स र चितवन राइनोजले अधिकतम मूल्य १५ लाखमा विवेक कुमार यादवलाई बोली लगाएका थिए। लक्की ड्रबाट विवेक चितवनमा पुगेका हुन्।
क्याटगोरी ए मा रहेका विवेक कुमार यादव दोस्रो सिजनको एनपीएल अगाडि घाइते हुँदा उनले दोस्रो सिजनको एनपीएल गुमाएका थिए।


0 comment