काठमाडौं - इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको रगतको बदला लिने घोषणा गरेको छ।
इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बाकर जोलकाद्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयतोल्लाह अली खामेनीका हत्याराहरूसँग उनको रगतको बदला निश्चित रूपमा लिइने उल्लेख गरिएको छ।
सचिव मोहम्मद बाकरले यो सन्देश सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेका हुन्। इरानका सर्वोच्च नेता खामेनीको हत्या गत २८ फेब्रुअरी २०२६ मा भएको थियो।
सोही दिन अमेरिका र इजरायलले इरानमाथि पहिलो पटक संयुक्त आक्रमण गरेका थिए। उक्त आक्रमणमा खामेनीका साथै अन्य थुप्रै उच्च इरानी अधिकारी र उनीहरूका परिवारका केही सदस्यहरूको समेत मृत्यु भएको थियो।
बीबीसी फारसीका अनुसार, अली खामेनीको अन्तिम संस्कार समारोह आगामी जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ। यसका साथै, छिमेकी मुलुक इराकका सहरहरू बगदाद, काजमिन, कर्बला र नजफमा पनि शोक सभाहरू आयोजना गरिने जनाइएको छ।


0 comment