काठमाडौं - भेनेजुएलामा भूकम्पले भत्किएको घरको भग्नावशेषबाट आफ्नी १८ दिनकी नवजात सन्तानसँगै उद्धार गरिएकी एक आमाले आफ्नो छोराले आफूलाई कसरी जीवित रहन प्रेरित गर्यो भन्ने सुनाएकी छन् । डायना पाटिनोले आफ्ना छोरा जुआन डेभिडले आफूलाई ‘जागा रहन र हार नमान्न प्रेरित गरेको’ बताइन् । उनले भनिन्, ‘जबसम्म ऊ जीवित थियो, म पनि बाँच्नेछु भन्ने विश्वास थियो । म बारम्बार उसको नाक छोइरहेकी थिएँ, ऊ अझै सास फेरिरहेको छ कि छैन भनेर सुनिश्चित गर्न ।’
उद्धार अभियानको भिडियो संसारभर फैलिएको छ र जुआन डेभिड भेनेजुएलामा आशाको प्रतीक बनेका छन् । बुधबार आएको दुई वटा शक्तिशाली भूकम्पले देशलाई तहसनहस बनाएको छ । ती भूकम्पमा कम्तीमा १,४५० जनाको मृत्यु भएको छ । देशकी अन्तरिम राष्ट्रपतिले यसलाई भेनेजुएलाको इतिहासकै ‘सबैभन्दा भीषण प्राकृतिक विपत्ति’ भनेकी छन् । दशौँ हजार मानिस अझै बेपत्ता छन् । उद्धार कार्य जारी रहे पनि अब थप जीवित मानिस भेटिने सम्भावना क्रमशः घट्दै गएको छ ।
आइतबार राजधानी कराकासस्थित एक क्लिनिकमा डायनाले बीबीसीलाई आफूले नवजात छोरालाई छातीमा च्यापेर भग्नावशेषमुनि बिताएका भयावह घण्टाबारे बताइन् । उत्तरी तटीय क्षेत्र ला ग्वाइरास्थित आफ्नो आठौँ तल्लाको अपार्टमेन्टमा उनी भाँडा माझिरहेकी थिइन् । त्यही बेला भूकम्प आयो । सुरुमा उनलाई सामान्य कम्पन मात्र लागेको जस्तो महसुस भयो, त्यसैले उनी तुरुन्त छोरालाई काखमा लिन दौडिइन् ।
उनले भनिन्, ‘मलाई लाग्यो म हावामा उडिरहेकी छु । त्यसपछि पानी र भग्नावशेषमा डुबे जस्तो महसुस भयो र अन्ततः एउटा खाल्डोमा खसेँ, जहाँ म थुनिएँ । यति धेरै उछिट्टिँदा पनि मैले मेरो बच्चालाई कसरी छोडिनँ, आजसम्म थाहा छैन । म फर्निचरले च्यापिएकी थिएँ ।’ उनले तुरुन्तै चिच्याउन थाले पनि कसैले आफ्नो आवाज नसुन्ने बुझिन् ।
उनले भनिन्, ‘मैले आफूलाई भनेँ, म आफ्नो ऊर्जा खेर फाल्दिनँ । वरिपरि मानिसको आवाज वा पाइला सुनेपछि मात्र कराउँछु ।’ उनका अनुसार उनको देब्रे खुट्टा कङ्क्रिटमुनि च्यापिएको थियो र कनपटीको भाग एउटा ठूलो ढुंगाले थिचेको थियो । त्यसैले उनी हल्लिन पनि सक्दिन थिइन् । डायनाले भग्नावशेषमुनि एउटा बाइबल छोएपछि आफूमा आशा पलाएको बताइन् । उनले भनिन्, ‘त्यही क्षणदेखि मैले बाँच्नका लागि संघर्ष सुरु गरें ।’ अन्धकारबीच उनलाई चन्द्रमा जस्तो देखिने एउटा सानो उज्यालो पनि देखिएको थियो ।
उद्धार कार्य त्यतिबेला सुरु भयो, जब उनले आफ्ना दाइले आफ्नो नाम बोलाएको आवाज सुनिन् । उनले भनिन्, ‘मैले आफूलाई भनेँ, यही मेरो अन्तिम मौका हो । मैले सके जति ठूलो स्वरमा चिच्याएँ, ‘म यहाँ छु ।’ त्यसपछि उनले भने, ‘मैले तिमीलाई भेट्टाएँ, तिमीलाई बाहिर ननिकाली म यहाँबाट जाने छैन ।’
उनले आफ्नो वाचा पूरा गरे । बिहीबार राति अत्यन्त सावधानीपूर्वक गरिएको उद्धार अभियानमार्फत आमा र नवजात शिशु दुवैलाई सुरक्षित रूपमा भग्नावशेषबाट बाहिर निकालियो । भूकम्पका कारण डायनाका दुवै खुट्टामा चोट लागेको छ भने जुआनलाई भने सामान्य चोट मात्र लागेको छ ।
डायनाका पति गेर्सन भूकम्प आउनुअघि मात्र घर फर्किएका थिए र गाडी पार्क गरिरहेका थिए । उनी बार नाघेर सुरक्षित स्थानमा पुग्न सफल भए । तर अपार्टमेन्ट भवन ध्वस्त भएको देखेपछि उनले पत्नी र छोरालाई गुमाइसकेको ठानेका थिए । उनले पत्नी र छोराको सकुशल उद्धारलाई ‘चमत्कार भन्दा कम नभएको’ बताए । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा गेर्सनले छोरालाई अँगालो हाल्दै आँखा चिम्लेर आकाशतर्फ हेरेको भावुक दृश्य देख्न सकिन्छ ।
उनले भने, ‘त्यो क्षणलाई शब्दमा व्यक्त गर्न सकिँदैन । मैले उनीहरू दुवैको मृत्यु भइसकेको ठानेको थिएँ । तर जब मैले आफ्नो छोरालाई देखें, मलाई लाग्यो म फेरि जन्मिएँ । विश्वासै लागेन । मेरो जीवन फेरि फर्किए जस्तो महसुस भयो ।’ गेर्सन र डायनाको घर पूर्ण रूपमा ध्वस्त भएको छ ।
उनीहरूको पाल्तु कुकुर अझै बेपत्ता छ, जसले उनीहरूलाई निकै दुःखी बनाएको छ । तर उनीहरू अब नयाँ जीवन सुरु गर्ने अठोटमा छन् । गेर्सनले भने, ‘हामीले लगभग सबै कुरा गुमाएका छौं । तर हामी जीवित छौं । हामीले गुमाएको सबै कुरा फेरि निर्माण गर्नेछौं ।’


0 comment