काठमाडौं - एर्लिङ हालान्डले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गर्दै नर्वेलाई आइभरी कोस्टविरुद्ध २–१ को जित दिलाएका छन्। अमेरिकाको डलास स्टेडियममा गएराती भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा यो जितसँगै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ भने आइभरी कोस्टको विश्वकप यात्रा समाप्त भएको छ।

हालान्डको प्रतियोगिताकै पाँचौं गोलले नर्वेको जित सुनिश्चित गर्‍यो। यसअघि एन्टोनियो नुसाले ३९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। त्यसपछि आइभरी कोस्टका अमाद डियालोले बराबरी गोल फर्काएका थिए।

यस जितसँगै नर्वेले अब आइतबार न्युयोर्कमा हुने अन्तिम १६ को खेलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

खेलको सुरुआती समय आइभरी कोस्टले राम्रो प्रदर्शन गरेको थियो। निकोलस पेपेले दायाँ विङबाट निरन्तर दबाब सिर्जना गरेका थिए भने घिस्लेन कोनान गोल गर्ने सबैभन्दा नजिक पुगेका थिए। उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार साइड नेटिङमा लागेको थियो।

यान डियोमान्डेले दिएको लामो पासमा पेपेले उत्कृष्ट अवसर पाए पनि उनको कमजोर प्रहारलाई नर्वेली रक्षकहरूले सहजै क्लियर गरेका थिए।

पहिलो हाफको अधिकांश समय हालान्ड खासै प्रभावशाली देखिएका थिएनन्। तर हाफको अन्त्यतिर नर्वेले खेलमा पकड जमाउन थाल्यो।

अलेक्जेन्डर सोर्लोथको क्रसमा हालान्डले गरेको हेडर लक्ष्यमा जान सकेन। त्यसपछि भने प्रशिक्षक स्टाले सोलबाकेनको टोलीले खेलको गति बढाउँदै बलमाथि नियन्त्रण कायम गर्‍यो।

नर्वेको दबाब अन्ततः ३९औँ मिनेटमा गोलमा परिणत भयो। कप्तान मार्टिन ओडेगार्डको पासमा एन्टोनियो नुसाले दायाँ खुट्टाबाट आकर्षक प्रहार गर्दै गोलरक्षक याहिया फोफानालाई बिट गर्दै बललाई पोस्टको माथिल्लो कुनामा पुर्‍याए।

त्यसपछि हालान्डको अर्को प्रयास अन्तिम क्षणमा रक्षकले रोके भने सोर्लोथको हेडर पनि गोलमा परिणत हुन सकेन।

पहिलो हाफको अन्त्यतिर आइभरी कोस्टका इमानुएल आग्बाडुले हेडरमार्फत गोल गर्ने अवसर गुमाए। दोस्रो हाफको १० मिनेटपछि निकोलस पेपेको प्रहारलाई नर्वेका गोलरक्षक ओर्यान निलान्डले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा राखेका थिए।

खेलको ६०औँ मिनेटमा क्रिस्ट इनाओ ओउलाइको स्थानमा मैदान प्रवेश गरेका अमाद डियालोले दुवै छेउमा महत्वपूर्ण भूमिका निभाए। उनले सुरुमा टोरब्योर्न हेगेमको गोलतर्फ गइरहेको प्रहार गोललाइनबाट क्लियर गर्दै आफ्नो टोलीलाई बचाए, त्यसपछि अर्को छेउमा पुगेर आइभरी कोस्टका लागि बराबरी गोल गरे।

म्यानचेस्टर युनाइटेडका विङर अमादले निकोलस पेपेसँग तीव्र ‘वान–टु’ पास खेलेपछि डेभिड मोलर वोल्फेलाई उछिन्दै सान्डर बेर्गेलाई छल्याए। त्यसपछि उनले गरेको शक्तिशाली प्रहार जमिनमा ठोक्किँदै गोलरक्षक ओर्यान निलान्डको पहुँचबाहिर गोलमा परिणत भयो, जसपछि आइभरी कोस्टका खेलाडी र समर्थकले उत्साहपूर्वक खुसी मनाएका थिए।

तर अन्तिम हाँसो भने एर्लिङ हालान्डकै भयो।

विकल्पका रूपमा मैदान प्रवेश गरेका तथा हालान्डका पूर्व म्यानचेस्टर सिटीका टोलीसाथी ओस्कार बोबले पेनाल्टी क्षेत्रभित्र प्याट्रिक बेर्गलाई उत्कृष्ट पास दिए। बेर्गले त्यसलाई हालान्डतर्फ मिलाइदिएपछि गोलरक्षक याहिया फोफाना आफ्नो स्थानबाट बाहिरिएका बेला हालान्डले खाली पोस्टमा सहजै बल जाली चुमाउँदै नर्वेलाई निर्णायक अग्रता दिलाए।

इन्जुरी समयमा अमादको फ्रिकिकलाई गोलरक्षक निलान्डले उत्कृष्ट रूपमा बचाएपछि नर्वेले २–१ को अग्रता जोगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो।