काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टीमार्फत लागेको हो। 

मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो बीबीभीएमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलकिपरहरूको उत्कृष्ट प्रदर्शनका कारण जाली चुम्न सकेन। 

दोस्रो हाफको ७२औँ मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाए। वाउट वेघोर्स्टको हेडर र क्रिसेन्सियो समरभिलको चलाख पासलाई सदुपयोग गर्दै गाक्पोले नजिकबाट गोल गरेका थिए। त्यसपछि नेदरल्यान्ड्सले अग्रता जोगाउने प्रयास गरिरहँदा मोरक्कोले लगातार दबाब बनाइरहेको थियो। 

खेल सकिनै लाग्दा, इन्जुरी समयको पहिलो मिनेट (९१औँ मिनेट) मा इस्सा डियोपले उत्कृष्ट हेडरमार्फत बराबरी गोल गर्दै मोरक्कोलाई खेलमा फर्काए। त्यसपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो।

अतिरिक्त समयमा मोरक्कोले खेलमा पकड जमाए पनि नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे। दुबै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्ट र युरियन टिम्बर गोल गर्न असफल भए भने मोरक्कोका एल आयनाउईको प्रहार बारमा लाग्यो। अन्तिम निर्णायक प्रहार इस्माइल साइबारीले सफलतापूर्वक गोलमा परिणत गरेपछि मोरक्को ३–२ ले विजयी बन्यो।

यस जितसँगै मोरक्कोले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले सह–आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्स भने नकआउट चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ।

मोरक्कोले अब अन्तिम १६ मा क्यानासँग प्रतिष्पर्धा गर्नेछ ।