काठमाडौं - चार पटकको विश्वकप विजेता जर्मनी सन् २०२६ को विश्वकपबाट बाहिरिएको छ। निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म १–१ को बराबरी भएपछि भएको रोमाञ्चक पेनाल्टी सुटआउटमा पाराग्वेसँग ४–३ ले पराजित हुँदै जर्मनीको यात्रा अन्त्य भएको हो।
जर्मनीका काई हाभर्ट्ज र निक वोल्टेमाडेको पेनाल्टी पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले शानदार रूपमा बचाए। यद्यपि पाराग्वेले पनि सुरुआती अवसरहरू खेर फालेको थियो। एन्टोनियो सानाब्रियाको प्रहार पोस्टभन्दा बाहिर गयो भने फाबियन बालबुएनाको पेनाल्टीलाई ४० वर्षीय अनुभवी गोलरक्षक मानुएल नोयरले रोके।
तर 'सडन डेथ'मा जर्मनीका जोनाथन टाहको प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका डिफेन्डर होसे क्यानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए।
खेलको ४२औँ मिनेटमा पूर्व प्रिमियर लिग खेलाडी जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए।
दोस्रो हाफमा भने जर्मनीले उत्कृष्ट पुनरागमन गर्यो। लिभरपुलका मिडफिल्डर फ्लोरियन विर्ट्जको क्रसमा काई हाभर्ट्जले आकर्षक हेडर गर्दै बराबरी गोल फर्काए।
त्यसपछि पाराग्वेले सशक्त र अनुशासित रक्षात्मक प्रदर्शन गर्दै खेललाई अतिरिक्त समयसम्म पुर्यायो। अतिरिक्त समयमा जोनाथन टाहले गरेको हेडर गोलमा परिणत भए पनि वाल्डेमार एन्टोनले गोलरक्षक गिलमाथि फाउल गरेको ठहर गर्दै रेफ्रीले गोल रद्द गरे।
पेनाल्टी सुटआउटमा जर्मनीले पहिलो प्रहार गरे पनि एकपटक पनि अग्रता लिन सकेन। पहिलो पेनाल्टीमै हाभर्ट्ज असफल भए भने वोल्टेमाडेको प्रहार पनि गिलले बचाए। पाराग्वेले दुई पटक खेल समाप्त गर्ने अवसर गुमाए पनि तेस्रो अवसरमा होसे क्यानालेले संयमित प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।
यस जितसँगै पाराग्वेले अन्तिम १६ मा दुई पटकको विश्व च्याम्पियन फ्रान्स वा सन् १९५८ को उपविजेता स्विडेनमध्ये एकसँग फिलाडेल्फियामा प्रतिस्पर्धा गर्नेछ।
जर्मनीको निराशाजनक विश्वकप यात्रा जारी
सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको जर्मनी पछिल्ला तीन संस्करणमा भने लगातार निराशाजनक प्रदर्शन गरिरहेको छ।
सन् २०१८ मा मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै समूहको पुछारमा रहेर बाहिरिएको जर्मनी २०२२ मा पनि जापानसँग हार बेहोरेपछि समूह चरण पार गर्न असफल भएको थियो। यसपटक पनि विश्व वरीयतामा आफूभन्दा ३१ स्थान तल रहेको पाराग्वेसँग पराजित हुँदै जर्मनीले अर्को ठूलो निराशा भोगेको छ।
प्रतियोगिता सुरु हुँदा फिफा विश्व वरीयताको ४१औँ स्थानमा रहेको पाराग्वे पहिलो खेलमा संयुक्त राज्य अमेरिकासँग ४–१ ले पराजित भएको थियो। त्यसपछि प्रशिक्षक गुस्ताभो अल्फारोको नेतृत्वमा टोलीले रक्षात्मक खेललाई निकै मजबुत बनायो र समूह डीमा तेस्रो स्थान हासिल गर्दै नकआउट चरणमा पुगेको थियो।
होसे क्यानाले र गुस्ताभो गोमेजको केन्द्रीय रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दा जर्मनीले लगातार आक्रमण गरे पनि स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गर्नुपर्यो। ६ फिट ६ इन्च अग्ला गोलरक्षक ओर्लान्डो गिलले निर्णायक बचाउ गर्दै पाराग्वेका नायक बने।
यो पराजयसँगै जर्मनीले आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको पेनाल्टी सुटआउटमा हार बेहोरेको छ। यसअघि विश्वकपमा भएका चारवटै पेनाल्टी सुटआउटमा जर्मनी विजयी भएको थियो। प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा जर्मनीको यसअघिको एकमात्र पेनाल्टी सुटआउट हार सन् १९७६ को युरोपियन च्याम्पियनसिपको फाइनलमा तत्कालीन चेकोस्लोभाकियाविरुद्ध भएको थियो, जहाँ एन्टोनिन पानेन्काको चर्चित 'चिप' पेनाल्टीले इतिहास रचेको थियो।


0 comment