काठमाडौं - पाकिस्तानको कराँची शहरस्थित सुरक्षा बलको क्याम्पमा भएको आतंककारी आक्रमणमा चार जना पाकिस्तानी रेञ्जरको मृत्यु भएको छ भने ६ जना आतंककारी मारिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा बलले एक जना आतंककारीलाई जीवितै पक्राउ गरेको छ ।

शनिबार साँझ भएको उक्त आक्रमणको सुरुवात शक्तिशाली विस्फोटबाट भएको थियो । त्यसपछि लगातार गोली चलेको आवाज सुनिएको थियो । घटना लगत्तै पाकिस्तानी रेञ्जर र प्रहरीले घटनास्थललाई घेरा हाल्दै प्रतिकार सुरु गरेका थिए । यस हमलाको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग आबद्ध जमात–उल–अहरार नामक समूहले लिएको छ ।

पाकिस्तानी दैनिक डनका अनुसार कराँचीको मौसमियात चौरंगी क्षेत्रमा रहेको सिन्ध रेञ्जरको क्याम्पमा राति हमला भएको हो । उक्त क्षेत्रमा विभिन्न कलेजहरू र पाकिस्तानको मौसम विभागको केन्द्र पनि रहेको छ । आक्रमणपछि सुरक्षा बलले तत्काल क्षेत्रलाई नियन्त्रणमा लिएर जवाफी कारबाही सुरु गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार राति करिब ८ः३० बजे सुरु भएको आक्रमणमा आतंककारीहरूले सुरक्षा बलको क्याम्पलाई निशाना बनाउँदै अन्धाधुन्ध गोली चलाएका थिए । करिब ९० मिनेटसम्म चलेको भिडन्तमा ६ जना आतंककारी मारिए भने एक जनालाई जीवितै पक्राउ गरिएको छ ।

सिन्धको उद्धार संस्था रेस्क्यु ११२२ का अनुसार सुरुमा गुलिस्तान–ए–जौहर ब्लक–५ नजिक आक्रमण भएको सूचना प्राप्त भएको थियो । त्यसपछि केन्द्रीय कमाण्डलाई जानकारी गराइएपछि पाकिस्तानी सेनाको आतंकवादविरोधी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीहरू कारमा आएका थिए । उनीहरूले आफ्नो गाडी रेञ्जरको क्याम्पमा ठोक्काएर जबर्जस्ती प्रवेश गरेका थिए । त्यसपछि ग्रेनेड प्रहार गरेपछि सुरक्षा बल र उनीहरूबीच भीषण गोलीबारी भएको थियो ।

यस आक्रमणको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग सम्बद्ध जमात–उल–अहरार ले लिएको छ । टीटीपीले अफगानिस्तानमा जस्तै पाकिस्तानमा पनि तालिबानी शासन स्थापना गर्ने लक्ष्य राख्दै आएको छ । यसका लागि उसले मुख्यतः खैबर पख्तूनख्वा क्षेत्रबाट गतिविधि सञ्चालन गर्दै आएको छ । उक्त संगठनले प्रायः पाकिस्तानी सेना, सैनिक तथा प्रहरीलाई निशाना बनाउने गरेको छ । 

विगत केही वर्षदेखि टीटीपी तथा त्यससँग सम्बद्ध समूहहरूले पाकिस्तानी सुरक्षा निकायमाथि निरन्तर आक्रमण गर्दै आएका छन् । पाकिस्तानी सेनाले भने आक्रमणपछि ती लडाकुहरू अफगानिस्तानतर्फ भाग्ने गरेको आरोप लगाउँदै आएको छ । यही कारण देखाउँदै पाकिस्तानले बेला–बेला अफगानिस्तानभित्र पनि आतंककारीविरुद्ध सैन्य कारबाही सञ्चालन गर्ने गरेको छ ।