काठमाडौं - होर्मुज स्ट्रेटमा पनामाको झण्डा अंकित एक व्यापारिक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ हवाई हमला गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्डले इरानभित्र रहेका विभिन्न ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरिएको पुष्टि गरेको छ। व्यापारिक जहाजहरूका विरुद्ध भइरहेका 'लगातार आक्रामक गतिविधि'को प्रत्यक्ष जवाफस्वरूप यो कारबाही गरिएको अमेरिकी दाबी छ।

सेन्टकमका अनुसार यस सैन्य कारबाहीमा इरानका सैन्य बन्दोबस्तीका सामान, सञ्चार प्रणाली, हवाई रक्षा प्रणाली र ड्रोन भण्डारण गरिएका स्थानहरूलाई मुख्य निशाना बनाइएको थियो।

'इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो, तर इरानले त्यसको पालना गरेन,' सेन्टकमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'उसको सेनाले 'एम/टी किक' नामक जहाजमाथि एकतर्फी रूपमा आत्मघाती ड्रोनमार्फत आक्रमण गर्‍यो।'

'एम/टी किक' पनामाको झण्डा बोकेको एउटा तेल ट्याङ्कर हो। सेन्टकमका अनुसार उक्त ट्याङ्करले २० लाख (दुई मिलियन) ब्यारेलभन्दा बढी कच्चा तेल बोकेर होर्मुज स्ट्रेट नजिकैबाट यात्रा गरिरहेको थियो।

तनावकाबीच पनि होर्मुज स्ट्रेटबाट व्यापारिक जहाजहरूको आवतजावत भने सुचारु रूपमा जारी रहेको सेन्टकमले जनाएको छ। अमेरिकी तर्फबाट भएको यस पछिल्लो आक्रमणका बारेमा इरानले हालसम्म आधिकारिक रूपमा कुनै टिप्पणी वा प्रतिक्रिया जनाएको छैन।