काठमाडौं - युद्ध अन्त्यको अन्तिम टुङ्गो लगाउनका लागि अमेरिका र इरानका उच्च प्रतिनिधिमण्डलबीच स्विट्जरल्याण्डको ल्युसर्न  शहरमा पहिलो चरणको प्रत्यक्ष वार्ता सुरु भएको छ । 

वार्तामा सहभागी एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार यो महत्वपूर्ण छलफल रातभर जारी रहने सम्भावना छ । ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी गत हप्ता भएको प्रारम्भिक सहमतिपछि दुई देश औपचारिक रूपमा वार्ताको टेबलमा आमनेसामने भएका हुन् । आइतबार राति सुरु भएको यस वार्तामा मुख्य गरी तीनवटा विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । 

वार्ता सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले लेबनानमा आफ्ना 'प्रोक्सी' (हिजबुल्लाह) लाई तुरुन्तै नरोके इरानमाथि फेरि कडा आक्रमण गर्ने धम्की दिएका थिए ।

ट्रम्पको यस धम्कीलाई इरानका मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले तत्कालै खारेज गरिदिएका छन् । गालिबाफले भनेका छन्, 'यदि उनीहरूको धम्कीको कुनै असर हुन्थ्यो भने आज अमेरिका यो निराशाजनक अवस्थामा पुग्ने नै थिएन । उनीहरू जतिसुकै कुरा गरुन्, एक्सन लिने हामी नै हौँ ।'

यस ऐतिहासिक वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्, जसमा ट्रम्पका ज्वाइँ जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ समेत सहभागी छन् । इरानका तर्फबाट गालिबाफसँगै विदेशमन्त्री अब्बास अराघची वार्तामा छन् ।

वार्तालाई निष्कर्षमा पुर्‍याउन मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुखका साथै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी पनि स्विट्जरल्याण्डमा उपस्थित छन् । यसै हप्ता दुवै देशका राष्ट्रपतिले हस्ताक्षर गरेको प्रारम्भिक सम्झौतामा युद्धलाई तत्काल रोक्ने उल्लेख छ, जसअन्तर्गत विश्वको २० प्रतिशत तेल र ग्याँस ओसारपसार हुने हर्मुज जलडमरूमध्य इरानले पुनस् खोल्नुपर्नेछ ।

अमेरिकाले इरानमाथिका सबै प्रकारका आर्थिक प्रतिबन्धहरू हटाउने र इरानको पुनर्निर्माणका लागि ३०० बिलियन डलर को योजना स्वीकृत गर्नेछ ।सम्झौताको प्रयास भइरहँदा लेबनानमा इजरायल र हिजबुल्लाहबीचको बढ्दो तनावले वार्तालाई चुनौतीपूर्ण बनाएको छ । इजरायली हवाई आक्रमणमा परि दर्जनौँ लेबनानी नागरिकको ज्यान गइसकेको छ भने हिजबुल्लाहको आक्रमणमा इजरायली सैनिक मारिएका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सैनिकहरू दक्षिणी लेबनानमै रहने अडान लिएका छन् भने हिजबुल्लाहले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ ।