काठमाडौं - विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले मियामीमा उरुग्वेविरुद्ध २–२ को बराबरी खेल्दै महत्वपूर्ण अंक बटुलेको छ।
यसअघि स्पेनसँग अप्रत्याशित बराबरी खेलेको केप भर्डेले अर्को प्रभावशाली प्रदर्शन दोहोर्यायो।
खेलको २१औँ मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई अग्रता दिलाए। यो विश्वकप इतिहासमा केप भर्डेको पहिलो गोल पनि बन्यो। तर पहिलो हाफको अन्त्यतिर उरुग्वेले लगातार दुई गोल फर्कायो। म्याक्सी अराउजो र अगस्टिन क्यानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।
तर दोस्रो हाफमा ४० वर्षीय उरुग्वेली गोलरक्षक फर्नाण्डो मुसलेराको गल्तीको फाइदा उठाउँदै हेलियो भरेलाले ६०औँ मिनेटपछि बराबरी गोल गरे। त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि खेल २–२ को बराबरीमा समाप्त भयो।
यस नतिजासँगै केप भर्डेले समूह एचमा लगातार दोस्रो बराबरी खेल्दै दुई अंक पुर्याएको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। अब उसले अन्तिम समूह खेलमा साउदी अरेबिया विरुद्ध खेल्नेछ। उक्त खेल जितेमा केप भर्डे अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ।
यता दुई पटकको विश्व विजेता उरुग्वे भने दबाबमा परेको छ। साउदी अरेबियासँग १–१ को बराबरीपछि फेरि अंक गुमाउँदा उसको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। अब उरुग्वेले अन्तिम खेलमा युरोपियन च्याम्पियन स्पेनलाई हराउनुपर्ने अवस्था आउन सक्छ।


0 comment