काठमाडौं - साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग पराजित हुँदै नेपालले आफ्नो यात्रा सकाएको छ। 

भारतको गोवास्थित जवारलाल नेहरु स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको हो। पहिलो हाफ १-१ बराबरीमा सकिँदा दोस्रो हाफमा थप गरिएको ६ मिनेटको समयको तेस्रो मिनेटमा बंगलादेशकी सागोरिकाले गोल गर्दै साविक विजेता बंगलादेश फाइनल प्रवेश गरेको हो। 

पहिलो हाफको ४०औं मिनेटसम्म दबदबा बनाएको नेपालले खेलको पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा गोल बेहोर्‍यो। २३औं मिनेटमा गीता राना मगरले गोल गर्दै अग्रता बनाएको नेपालले अग्रता जोगाउन सकेन। पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बंगलादेशकी फर्वाड रितु पोर्ना चक्माले कर्नरबाट दोस्रो बारमा च्याप्दै उत्कृष्ट गोलमार्फत बंगलादेशलाई खेलमा फर्काइन्। 

नियमित समयमा थप गरिएको ६ मिनेटको तेस्रो मिनेटमा बंगलादेशकी युवा खेलाडी सागोरिकाले गोल गर्दै बंगलादेशलाई फाइनलतर्फ डोर्‍याइन्। 

बंगलादेशले आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनल भुटान र भारतबीच हुनेछ।