काठमाडौं - हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सेनामाथि १३ पटक आक्रमण गरेको दाबी गरेको छ। सङ्गठनका अनुसार यी आक्रमणहरूमा सैनिक टोलीहरू, सैन्य सवारी साधनहरू र कमाण्ड पोस्टहरूलाई निशाना बनाइएको थियो।
हिजबुल्लाहले आफ्नो विज्ञप्तिमा भनेको 'उसका लडाकुहरूले रकेट, आर्टिलरी (तोपखाना), गाइडेड मिसाइल र अट्याक ड्रोनको प्रयोग गरेर इजरायली सेनाको अगाडि बढ्ने प्रयासलाई रोकेका छन्।
सङ्गठनका अनुसार, दक्षिणी लेबनानका धेरै क्षेत्रहरूमा दुवै पक्षबीच भारी संघर्ष भएको छ, जहाँ इजरायली सेनाले घुसपैठ बढाएको छ।
हद्दाथा र अल-बलू क्षेत्रमा हिजबुल्लाहले धेरै इजरायली मर्कावा ट्याङ्कहरूलाई निशाना बनाएको र एक सैन्य सवारी साधन नजिकै विस्फोटक यन्त्र विस्फोट गराएको दाबी गरेको छ। सङ्गठनको भनाइ अनुसार, यसपछि इजरायली सैनिकहरूले आफ्नो कारबाही रोक्नुपर्यो र हवाई आक्रमणको सहारामा पछि हट्नुपर्यो।
विज्ञप्तिमा यो पनि भनिएको छ कि दक्षिणी लेबनानको ऐतिहासिक ब्यूफोर्ट क्यासल र बियादा सहर वरपर तैनाथ इजरायली बलहरूमाथि पनि मिसाइल र रकेट आक्रमण गरिएको थियो। हिजबुल्लाहका अनुसार यी आक्रमणहरूमा एउटा कमाण्ड मुख्यालय र बख्तरबन्द इकाइहरूलाई निशाना बनाइएको थियो।
लेबनानमा इजरायली सैन्य कारबाही जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा जारी इजरायली सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
ट्रम्पले सोमबार नेतान्याहुसँग फोनवार्ता गर्दै आक्रोश पोखेका हुन्। अमेरिकी सञ्चारमाध्यम 'एक्सियोस'को रिपोर्ट अनुसार, आक्रोशित ट्रम्पले नेतान्याहुलाई 'पागल'सम्म भन्नुको साथै अपशब्द समेत प्रयोग गरेका थिए।


0 comment