काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोगको मुद्दा दर्ता भएको छ । क्यानका अध्यक्ष चन्दमाथि २०८३ वैशाख १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पद दुरुपयोगसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
आयोगले सोही मुद्दालाई वैशाख २९ मा युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको थियो । यहि विषयलाई मन्त्रालयले वैशाख ३१ मा राखेपलाई १० दिनभित्र जवाफ माग गरेर पठाएको हो । राखेपले क्यानका अध्यक्षमाथि लागेका सम्पूर्ण आरोपलाई उल्लेख गर्दै उक्त विषयमा जवाफ पठाउन क्यानमा पत्रचार गरेको हो ।
क्यानका अध्यक्ष चन्दले अमेरिकामा भएको विश्वकपमा जर्सी तथा टिकटको पैसामा चलखेल गरेको बताइएको छ । अमेरिकामा भएको विश्वकपमा अध्यक्ष चन्द डाक्टरको कोटामा अमेरिका गएको र आफ्नो श्रीमतीलाई पनि क्यानकै खर्चमा अमेरिका लगेको पत्रमा उल्लेख गरिएको छ । यसमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का पनि श्रीमतीसहित क्यानकै खर्चमा अमेरिकामा घुमेको बताइएको छ ।
पत्रमा सार्वजनिक कोष अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियाको दुरुपयोग गरेको, अपाङ्गता भत्ताको दुरुपयोग गरेको, वार्षिक साधारण सभा र विश्वकप जर्सी तथा टिकटमा अनियमितता भएको लगायतका विषयहरुमा जवाफ मागिएको थियो ।


0 comment