काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरान युद्धबाट हात झिक्ने खुलासा गरेका छन् । उनले अमेरिका र इरानबीचको सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताएका छन् । यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताएका छन् ।
उनले शनिबार उक्त सम्झौतामा होर्मुज जलडमरूमध्य (स्ट्रिट अफ होर्मुज) पुनः सञ्चालन गर्ने विषय पनि समावेश रहेको बताए, तर थप विवरण भने खुलाएनन् । यसअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले राज्य टेलिभिजनसँग कुरा गर्दै पछिल्लो एक सातामा अमेरिका र इरानका धारणा नजिकिँदै गएको बताएका थिए । तर उनले मुख्य विषयहरूमा अझै सहमति भइनसकेको भन्दै अमेरिकाले ‘विरोधाभाषपूर्ण अभिव्यक्ति’ दिइरहेको आरोप लगाए ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले साउदी अरेबबिया, युएई, कतारलगायतका देशका नेताहरूसँग ‘शान्तिसम्बन्धी समझदारीपत्र’ बारे निकै राम्रो वार्ता गरेको बताएका छन् । उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिका, इस्लामिक गणतन्त्र इरान र अन्य विभिन्न देशहरूबीच अन्तिम टुंगो लाग्न बाँकी रहे पनि सम्झौता धेरै हदसम्म तय भइसकेको छ ।’ ट्रम्पले शनिबार बेन्जामिन नेतन्याहुसँग पनि कुराकानी भएको र त्यो ‘धेरै राम्रो’ भएको बताएका छन्।
यद्यपि ट्रम्पले सम्झौताका थप विवरण सार्वजनिक गरेका छैनन्, तर उनले कुनै पनि सम्झौताले इरानलाई परमाणु हतियार प्राप्त गर्न पूर्ण रूपमा रोक्ने दाबी गरेका छन् । पछि शहबाज शरीफले ट्रम्पको शान्ति प्रयासको प्रशंसा गर्दै फोन वार्ता ‘उपयोगी र फलदायी’ भएको बताएका छन् । अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि व्यापक आक्रमण गरेका थिए, जसले मध्यपूर्वमा तनाव चर्काएको थियो ।
त्यसपछि इरानले इजरायल र अमेरिकासँग निकट रहेका खाडी राष्ट्रहरूलाई निशाना बनाउँदै प्रतिआक्रमण गरेको थियो । अप्रिलको सुरुवातमा युद्धविराम भएपछि वाशिङ्टन र तेहरानबीच दीर्घकालीन शान्ति सम्झौताबारे वार्ता जारी छ । इरानी प्रवक्ता बकाएईले शनिबार १४ बुँदे ‘समझदारीपत्र’ तयार पार्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । उनका अनुसार ३० देखि ६० दिनभित्र थप वार्ता गरेर अन्तिम सम्झौतामा पुग्ने लक्ष्य छ । अमेरिकाले १३ अप्रिलदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ ।


0 comment