काठमाडौं - चीनको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ राज्य सञ्चारमाध्यमहरूले जनाएका छन्।
ग्यास विस्फोट शान्सी प्रान्तस्थित टोङझोउ समूहद्वारा सञ्चालन गरिएको लिउशेन्यु कोइला खानीमा भएको हो। घटनास्थलमा सयौं उद्धारकर्मी पठाइएको छ। राज्य सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियोमा एम्बुलेन्सहरूको बीचमा स्वास्थ्यकर्मीहरूले स्ट्रेचर बोकेको देखिन्छ। उद्धार कार्य अझै जारी रहेको छ।
शान्सीको उक्त कोइला खानीमा विस्फोट भएको थियो। घटनाका बेला खानीमा २४७ जना कामदार कार्यरत रहेको बताइएको छ।
घटनापछि चिनियाँ राष्ट्रपति सी जीनपिङले घाइतेहरूको उपचार र जीवित व्यक्तिहरूको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
उनले दुर्घटनाको कारण पत्ता लगाउन र दोषीलाई कारबाही गर्न पनि सरकारलाई आग्रह गरेका छन्।
राज्य सञ्चारमाध्यमका अनुसार खानी सञ्चालनमा संलग्न अधिकारीहरूलाई नियन्त्रणमा लिइएको छ। ग्याँस विस्फोटको वास्तविक कारण अझै खुलेको छैन तर खानीभित्र अत्यन्त विषालु र गन्धहीन ग्यास कार्बन मोनोअक्साइडको मात्रा सुरक्षित सीमाभन्दा बढी रहेको बताइएको छ।


0 comment