काठमाडौं - उत्तरी होन्डुरसमा भएका दुई छुट्टाछुट्टै हिंसात्मक घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । यी घटनाले मध्य अमेरिकी देश होन्डुरसलाई फेरि हिंसाले स्तब्ध बनाएको छ ।

बिहीबार पहिलो घटना देशको उत्तरस्थित ट्रुजिलो नगरपालिकाको रिगोरेस क्षेत्रमा रहेको एक दुर्गम पाम फार्ममा भएको थियो । होन्डुरस राष्ट्रिय प्रहरीका प्रवक्ता एडगार्डो बाराहोनाका अनुसार घटनास्थलमा कम्तीमा १० जना कामदारको गोली हानी हत्या गरिएको छ, तर मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
 
बाराहोनाले अनुसन्धान टोली पुग्नुअघि नै केही शोकाकुल परिवारजनले आफ्ना आफन्तको शव लगेकाले घटनास्थल सुरक्षित गर्न कठिन भएको बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार सशस्त्र आक्रमणकारीहरूले मजदुरमाथि अन्धाधुन्ध गोली चलाएका थिए । केही पीडित स्थानीय चर्चमा भेला भएका बेला आक्रमण भएको बताइएको छ ।

सार्वजनिक भएका तस्वीरहरूमा कामका लागि प्रयोग गरिने बाक्ला रबरका जुत्ता लगाएका शवहरू जमिनमा छरिएको देखिन्छ । एक रिपोर्टअनुसार तीन दिदीबहिनी पनि मारिएका छन् । आक्रमणको कारण अझै खुल्न सकेको छैन । तर उत्तरी होन्डुरसमा लामो समयदेखि भूमिसम्बन्धी द्वन्द्व चल्दै आएको छ ।

मानवअधिकार विज्ञहरूले उर्वर भूमि कब्जा गर्न खोज्ने सशस्त्र समूहका कारण स्थानीय किसान र मजदुरहरू विस्थापित हुँदै आएको र त्यस क्रममा घातक आक्रमण हुने गरेको चेतावनी दिएका छन् । घटनापछि होन्डुरस सशस्त्र बलका संयुक्त स्टाफ प्रमुख हेक्टर बेन्जामिन भालेरियो अर्डोनले दोषी पत्ता लगाउन सेना ‘आवश्यक सबै साधन र जनशक्ति’ प्रयोग गर्न तयार रहेको बताएका छन् ।

उही दिन अर्को घातक घटना उत्तरी होन्डुरसकै कोर्तेस विभागमा, ग्वाटेमालासँगको सीमाक्षेत्र नजिक भएको थियो । प्रहरीका अनुसार राजधानी टेगुसिगाल्पाबाट गएको टोली ओमोआ क्षेत्रमा ग्याङविरुद्धको अपरेशन सञ्चालन गर्न पुगेको थियो । तर घटनालाई प्रहरीमाथिको ‘एम्बुस’ अर्थात् योजनाबद्ध आक्रमणका रूपमा वर्णन गरिएको छ । रिपोर्टअनुसार प्रहरीले एक भवनमा शंकास्पद व्यक्तिको खोजी गरिरहेको बेला उनीहरूमाथि गोली प्रहार गरिएको थियो ।

यस घटनामा डेपुटी कमिश्नर लेस्टर अमाडोरसहित ६ जना प्रहरी अधिकारी मारिएका छन् । उनीहरू एन्टी–मारास, ग्याङ एन्ड अर्गनाइज्ड क्राइम प्रहरी निर्देशनालयका सदस्य थिए । आक्रमणमा केही संदिग्ध व्यक्तिहरू पनि मारिएको वा घाइते भएको हुन सक्ने अनुमान गरिएको छ । दुवै घटनापछि राष्ट्रिय प्रहरीले विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा तत्काल प्रत्यक्ष हस्तक्षेप गरिने जनाएको छ ।  प्रहरीले भन्यो, ‘राज्यले दोषीहरूलाई पक्राउ गर्न, जोखिममा रहेका समुदायको सुरक्षा गर्न र सबै पीडितलाई न्याय सुनिश्चित गर्न कडा कदम चाल्ने छ ।’ होन्डुरसमा सन् २०२२ देखि अपराध नियन्त्रणका लागि लामो समयसम्म संकटकाल लागू गरिएको थियो । 

तर आलोचकहरूले ती आपतकालीन उपायहरूले नागरिक स्वतन्त्रता कमजोर बनाएको र सुरक्षा निकायलाई अत्यधिक अधिकार दिएको भन्दै मानवअधिकार उल्लंघन बढेको आरोप लगाएका थिए । यस वर्ष जनवरीमा दक्षिणपन्थी राष्ट्रपति नास्री ‘टिटो’ अस्फुराको पदभार ग्रहणसँगै उक्त संकटकाल अन्त्य गरिएको थियो । अस्फुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिन्छन्, जसले ल्याटिन अमेरिकामा कडा सुरक्षा नीति प्राथमिकतामा राखेका छन् । मार्चमा अस्फुराले फ्लोरिडामा आयोजित ट्रम्प समर्थित दक्षिणपन्थी ‘शील्ड अफ द अमेरिकाज’ सम्मेलनमा समेत सहभागिता जनाएका थिए, जहाँ क्षेत्रीय सुरक्षाबारे छलफल गरिएको थियो ।