काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्।
“म कसैलाई स्वतन्त्र घोषणा गराउन चाहन्न,” अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार फक्स न्यूजसँगको अन्तर्वार्तामा भने। यो अभिव्यक्ति उनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको दुई दिने शिखर बैठकपछि दिएका हुन्।
ताइवानी राष्ट्रपति लाइचिङ तेले यसअघि ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको बताएका थिए किनभने ताइवानले आफूलाई पहिले नै एक सार्वभौम राष्ट्रका रूपमा हेर्छ।
अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ। अमेरिकी कानुनअनुसार ताइवानलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका बाध्य छ। तर चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्नुपर्ने भएकाले अमेरिकाले यी दुई सम्बन्ध बीच सन्तुलन कायम गर्नुपर्ने अवस्था रहँदै आएको छ।
यसअघि ट्रम्पले ताइवानबारे “कुनै पनि पक्षमा प्रतिबद्धता नगरेको” बताएका थिए। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर नियन्त्रणमा लिन सकिने चेतावनी पनि दिँदै आएको छ।
वाशिङ्टनको आधिकारिक धारणा अनुसार अमेरिकाले ताइवानी स्वतन्त्रतालाई समर्थन गर्दैन। साथै, बेइजिङसँगको सम्बन्ध कायम रहन चीनलाई “एक मात्र चिनियाँ सरकार” मान्ने नीति स्वीकार गरिएको छ।
बेइजिङले ताइवानी राष्ट्रपति लाइ चिङ-तेप्रति असन्तुष्टि व्यक्त गर्दै उनलाई “समस्याको स्रोत” र “चीन ताइवान सम्बन्धमा शान्ति नष्ट गर्ने व्यक्ति” भनेर आलोचना गरेको छ।
धेरै ताइवानी नागरिक आफूलाई छुट्टै राष्ट्रको हिस्सा मान्छन्। तर अधिकांश मानिसहरू हालको अवस्थालाई नै कायम राख्न चाहन्छन्, जसमा ताइवानले न त चीनबाट औपचारिक स्वतन्त्रता घोषणा गर्छ, न त चीनसँग एकीकरण हुन्छ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पलेले ताइवान सम्बन्धी अमेरिकी नीति परिवर्तन नभएको दोहोर्याए।
उनले भने, “तपाईंलाई थाहा छ, हामीले युद्ध लड्न ९,५०० माइल (१५,२८९ किलोमिटर) टाढा यात्रा गर्नुपर्छ। म त्यस्तो अवस्था चाहन्न। म चाहन्छु कि तनाव कम होस्। म चीनले पनि शान्त रहोस् भन्ने चाहन्छु।”
वाशिङ्टन फर्किने क्रममा विमानमै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र चिनियाँ राष्ट्रपतिबीच ताइवानबारे “धेरै छलफल” भएको बताए। तर अमेरिकाले ताइवानको रक्षा गर्छ वा गर्दैन भन्ने विषयमा भने आफूले कुनै टिप्पणी नगरेको उनले स्पष्ट पारे।
ट्रम्पका अनुसार, सि जिनपिङ ताइवानको विषयमा “धेरै गम्भीर” छन् र “ताइवान स्वतन्त्रताको आन्दोलन हेर्न चाहँदैनन्।”
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा सि जिनपिङले चेतावनी दिँदै भने, “ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण मुद्दा हो। यदि यसलाई गलत तरिकाले सम्हालियो भने, दुई राष्ट्रबीच टकराव वा संघर्ष हुन सक्छ।”
हालका वर्षहरूमा चीनले ताइवान वरिपरि सैन्य अभ्यासहरू तीव्र बनाएको छ, जसले क्षेत्रीय तनाव बढाएको छ र वाशिङ्टनले कायम राख्न खोजेको शक्ति सन्तुलनलाई चुनौती दिएको छ।
गत वर्षको अन्त्यतिर ट्रम्प प्रशासनले ताइवानलाई ११ अर्ब डलर (झन्डै ८ अर्ब पाउण्ड) बराबरको हतियार बिक्री गर्ने योजना घोषणा गरेको थियो। यसमा अत्याधुनिक रकेट लन्चर तथा विभिन्न प्रकारका मिसाइलहरू समावेश थिए, जसको चीनले कडा विरोध गरेको थियो।
ट्रम्पले उक्त हतियार बिक्री अगाडि बढ्ने वा नबढ्ने विषयमा आफूले छिट्टै निर्णय गर्ने बताए। उनले आफू र चिनियाँ राष्ट्रपतिबीच यसबारे “धेरै विस्तृत छलफल” भएको पनि उल्लेख गरे।
उनले थपे, “म अहिले ताइवान चलाइरहेका व्यक्तिसँग कुरा गर्नु पर्नेछ, तपाईंलाई थाहा छ उहाँ को हुनुहुन्छ।”
अमेरिकाको ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन, तर अनौपचारिक सम्बन्ध भने बलियो रूपमा कायम छ। अमेरिकी राष्ट्रपतिहरूले सामान्यतया ताइवानी नेतासँग प्रत्यक्ष संवाद गर्दैनन्, किनकि त्यसले बेइजिङसँग ठूलो तनाव सिर्जना गर्न सक्छ। चीनले ताइवानी राष्ट्रपति लाई चिङ तेलाई पृथकतावादी नेता मान्दै आएको छ।
फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भने, “हामी युद्ध चाहँदैनौँ। यदि अहिलेको अवस्था जस्ताको तस्तै रह्यो भने, मलाई लाग्छ चीन पनि त्यसमा सहमत हुनेछ। तर हामी कसैले ‘अमेरिकाले साथ दिइरहेको छ, अब स्वतन्त्र घोषणा गरौँ’ भन्ने अवस्था चाहँदैनौँ।”
यसअघि पनि अमेरिकाले ताइवानी स्वतन्त्रताप्रतिको आफ्नो धारणा नरम बनाएको संकेत दिएपछि चीन आक्रोशित भएको थियो।
फेब्रुअरी २०२५ मा अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइटबाट वाशिङ्टन ताइवानी स्वतन्त्रताको विरोधमा रहेको भन्ने वक्तव्य हटाएको थियो। बेइजिङले त्यसले “पृथकतावादी शक्तिहरूलाई गलत सन्देश दिएको” प्रतिक्रिया दिएको थियो।
त्यस समयमा ताइवानस्थित अमेरिकी अधिकारीहरूले भनेका थिए, “हामीले लामो समयदेखि दुवै पक्षबाट यथास्थितिमा एकतर्फी परिवर्तनको प्रयासको विरोध गर्दै आएका छौँ।”
ताइवानका विदेशमन्त्री लीन चिया लङले आफ्नो टोलीले अमेरिका चीन शिखर सम्मेलनलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्। साथै, ताइवान–अमेरिका सम्बन्धलाई स्थिर र अझ गहिरो बनाउन तथा ताइवानको हित सुरक्षित गर्न अमेरिका सहित अन्य देशहरूसँग राम्रो समन्वय कायम गरिएको उनले बताए।
उनले ताइवान सधैँ क्षेत्रीय “शान्ति र स्थिरताको संरक्षक” रहँदै आएको उल्लेख गर्दै चीनमाथि “आक्रामक सैन्य गतिविधि र अधिनायकवादी दमन” मार्फत जोखिम बढाएको आरोप लगाए।


0 comment