काठमाडौं - चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग हुने उच्चस्तरीय वार्ताअघि चीन र अमेरिका प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्ने बताएका छन्।
यसको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति ट्रम्पले सी जिनपिङलाई महान नेताको संज्ञा दिँदै दुई महाशक्तिबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताएका छन्।
यद्यपि, दुई नेताबीच हुने वार्तामा व्यापारिक शुल्क ट्यारिफ, प्रविधि क्षेत्रमा प्रतिस्पर्धा, इरान युद्ध तथा ताइवानजस्ता संवेदनशील विषयहरूमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
भेटवार्ताअघि बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल बाहिर रातो कार्पेटमा राष्ट्रपति सी जिनपिङले ट्रम्पसँग हात मिलाएका थिए। उनीहरूलाई स्वागत गर्न बालबालिकाहरूले उत्साहपूर्वक अभिवादन गरेका थिए भने दुवै नेताले सैनिक दस्ताको निरीक्षण पनि गरेका थिए।
ट्रम्पसँगै बेइजिङ पुगेका प्रतिनिधिमण्डलमा एलन मस्क तथा जेनसेन हुआङ जस्ता प्रविधि क्षेत्रका चर्चित व्यक्तिहरू पनि सहभागी छन्। भ्रमणअघि ट्रम्पले चीनलाई अमेरिकी उद्योगका लागि “थप खुला” बनाउन आग्रह गर्ने बताएका थिए।
सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा पुगेका ट्रम्पले अहिले अझ शक्तिशाली र आत्मविश्वासी चीनको सामना गरिरहेका छन्, जसले आफूलाई विश्वसामु स्थिर वैश्विक शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ।
दुवै नेताले आज साँझ आयोजना हुने राजकीय भोजमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।


0 comment