काठमाडौं - आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।
नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुने प्रतियोगितामा अमेरिका, भानुआटु र रुवान्डासँग डबल राउन्ड रोबिन लिगमा प्रतिस्पधा गर्नेछ । नेपाली महिला टोली पहिलो पटक रुवान्डा गएर खेल्न लागेको हो । घाइते भएपछि इन्दु मैदान बाहिर रहेकी कप्तान इन्दु यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा फर्किएकी छन्।
बिदाइ कार्यक्रममा कप्तान इन्दुले प्रतियोगिताका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको बताइन् । विगतका खेलमा भएका कमी कमजोरी सुधार गर्दै जित हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने उनले बताइन् ।
त्यस्तै राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटक राम्रो तयारी भएकाले नेपालको पक्षमा नजिता आउने विश्वास व्यक्त गरे
नेपाली टोलीको कप्तानमा इन्दु र उपकप्तानको जिम्मेवारीमा पूजा महतो रहेकी छन् भने बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय, रूबिना क्षेत्री र रचना चौधरी टिममा समावेश छन् ।



0 comment