काठमाडौं - नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’को उपचार गर्ने जिम्मा उनी आबद्ध क्लबको भएको जनाएको छ।

एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै उनको उपचारको जम्मेवारी उनी आवद्ध न्युजिल्याण्डको विलिङ्टन फोनिक्स फुटबल क्लब भएको जनाएको हो। कुनै पनि खेलाडी क्लबबाट फुटबल खेल्ने क्रममा घाइते भएमा उपचारको जिम्मा पनि क्लबकै हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको एन्फाको भनाइ छ।

साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उपचारमा  एन्फाले सहयोग नगरेको गुनासो गर्दै समर्थकसँग आर्थिक सहयोग मागेपछि एन्फाले त्यसबारेमा स्पष्ट पारेको हो ।

एन्फाले भनेको छ, ‘व्यवसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए निजको उपचारको जिम्मा क्लबकै रहने अन्तराष्ट्रिय प्रचलन रहेको छ।’क्लबले न्युजिल्याण्डको अस्पतालमा उपचारका लागि पहल गरेको तर साम्बाले कतारमा उपचार गराउने इच्छा राखेकोले त्यसका लागि एन्फाले पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।